• २१ बैशाख २०८१, शुक्रबार
चक्रपथमा एएनपीआर प्रविधि जडानः तीब्र गतिमा सवारी चलाए तुरुन्तै कारवाही


काठमाडौ । तीब्र गतिबाट हुने दुर्घटना न्यूनीकरण गर्न ट्रफिक प्रहरीले अटोमेटिक नम्बर प्लेट रिकग्नाइज (एएनपीआर) विथ स्पिड डिटेक्सन क्यामेरा जडान गरेको छ ।

हाल चक्रपथका तीन स्थानमा नयाँ प्रविधिको क्यामेरा जडान भएको ट्राफिक प्रहरीले जनाएको छ ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार अहिले चक्रपथ सडकअन्तर्गत कोटेश्वर, थसिखेल र धोबिखोलामा क्यामेरा जडान भएका छन् । ती तीन स्थानमा ६ वटा क्यामेरा जडान भएको उनले बताए ।

‘तीब्र गतिका कारण उपत्यकामा ३० प्रतिशत दुर्घटना हुने गरेको छ । सवारी दुर्घटना न्यूनीकरण गर्न एएनपीआर क्यामेरा जडान भएको हो’ प्रवक्ता भट्टले भने, ‘तीन स्थानमा ६ वटा क्यामेरा जडान भएका छन् ।’

ट्राफिक प्रहरीले अन्य स्थानमा पनि क्यामेरा जडान गर्ने तयारी गरेको छ । यो प्रविधिले तोकिएभन्दा बढी गति गतिमा सवारी चलाएमा नम्बर प्लेटको फोटो खिचेर ट्राफिक प्रहरीको कन्ट्रोल रूपमा पठाउँछ ।

कन्ट्रोल रुमबाट प्रहरीले सूचना सर्कुलर गरेर सवारी चालकलाई कारवाही गर्छ । एएनपीआरले गाडीको स्पीडसँगै फोटो र भिडियो रेकर्ड गर्छ ।

‘सकिए तुरुन्तै चालकलाई कारवाही गर्छौं, नत्र रेकर्ड केलाउँदैपछि पनि कारवाही गर्ने प्रक्रियामा हामी अघि बढेका छौं’ प्रवक्ता भट्टले भने

Nabintech