नेपालले दियो पाकिस्तान ‘ए’ लाई १८० रनको लक्ष्य, सोमपालको सानदार ब्याटिङ


काठमाडौ । एसीसी इमर्जिङ टिम्स एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तान (ए) लाई १८० रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ रोजेको नेपाल ३७ ओभरमा १७९ रन बनाउँदै अल आउट भएको हो । पाकिस्तानी बलरसामु नेपाली ब्याट्स्मेन निरीहजस्तै देखिए ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ७५ रन बनाए । उनले १०१ बलमा  ९ चौका र एक छक्का प्रहार गर्दै ७५ रन बनाएका हुन् ।

सोमपालपछि प्रतिश जीसी २६ रन बनाएर आउट भए । उनले २४ बलमा दुई छक्का र एक चौकाको मद्दतमा २६ रन बनाए ।

त्यस्तै नेपालका अर्जुन साउद र कुशल मल्ल समान १७ रनको योगदान गरे ।  गुल्सन झा १३, आशिफ शेख १२, रोहित पौडेल ४, कुशल भुर्तेल र पवन शर्राफ समान १ रन बनाउँदा भीम सार्की शून्य रनमा आउट भए ।

पाकिस्तानका २२ वर्षीया अलराउन्डर मोहम्मद वासिमले ४ र बलर शहनवाज दहनीले ५ विकेट लिए ।

नेपाल भारत ए, पाकिस्तान ए र यूएई ए रहेको समूहमा छ ।

भारत-पाकिस्तान लगायत टेस्ट राष्ट्रले राष्ट्रिय टिममा स्थान बनाउन नसकेका वैकल्पिक खेलाडी समेटेर ‘ए’ टिम प्रतियोगितामा सहभागी गराएको छ ।

Nabintech