हरित सहरका लागि कोहलपुर नगरपालिकाले वृक्षारोपण अभियान चलायो


नेपालगन्ज । कोहलपुर नगरपालिकाले हरित सहरका लागि बुधबारदेखि वृक्षारोपण अभियान सुरु गरेको छ ।

कोहलपुर नगरपालिका हाताभित्रबाट वृक्षारोपण अभियान सुरु भएको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिनुभयो ।

नगर प्रमुख पूर्ण प्रसाद आचार्य, नगर उप प्रमुख संगिता सुवेदी र प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले एकैसाथ वृक्षारोपण गरेर अभियानको सुरुवात गर्नु भएको छ ।

कोहलपुर नगरपालिकालाई हरित नगर बनाउने योजना अनुसार अभियान सुरु भएको नगर प्रमुख आचार्यले बताउनुभयो । उहाँले कोहलपुर सहरलाई हरित सहर बनाउने नगरपालिकाको अभियानमा सबै नगरबासी जोडिनपनि आह्वान गर्नुभयो । नगर उप प्रमुख सुवेदीले कोहलपुरलाई वातावरणमैत्री नगर बनाउन पनि वृक्षारोपण अत्यन्तै जरुरी रहेको बतानुभयो ।

उहाँले जलवायु परिवर्तनबाट उत्पन्न समस्या न्यूनीकरणका लागि बोटबिरुवाको संरक्षण आवश्यक रहेकाले हरेक नगरबासीले रोपिएका बिरुवाको संरक्षण गर्नुपर्ने बताउनुभयो ।

कोहलपुर नगरपालिकाले यो सिजनमा एक हजार ६० कोनोकार्पस प्रजातिको बिरुवा रोप्ने तयारी गरेको छ । राजमार्गको बीच खण्डमा, नगर भवन परिसर, निर्माणाधीन नगर कार्यपालिकाको परिसर र बजार क्षेत्रमा कोनोकार्पस बिरुवा रोपिने नगर प्रहरी प्रमुख थापाले जानकारी दिनुभयो । यस्तै नगरपालिकाले नगरबासीलाई आफ्नो घर अगाडि छ्त्तीवन, करभिर, बेगनबेली, समि, कपुर, मिनि चमेली, गुलाचिन, बोटल ब्रस, टिकुमा लगायतका बिरुवा रोप्न आग्रह गरेको छ ।

Nabintech