• ४ आश्विन २०८१, शुक्रबार
पाठेघरको क्यान्सर र स्तन क्यान्सरको उपचार निःशुल्क गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा


काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहालले महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा नि:शुल्क सेवा विस्तार गरिने घोषणा गरेका छन् ।

११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो घोषणा गरेका हुन् ।

‘सातवटै प्रदेशमा नि:सन्तान उपचार सेवा, वडास्तरमा नवजात शिशु स्याहार केन्द्रको स्थापना, महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा नि:शुल्क सेवा विस्तार गरिनेछ। साथै पाठेघरको क्यान्सर रोकथामको लागि ९ देखि १३ वर्षका बालिकालक्षित एचपीभी खोप कार्यक्रमलाई देशव्यापी विस्तार गरिनेछ,’ प्रधानमन्त्री दाहालले भनेका छन् ।

प्रधानमन्त्री दाहालले पछिल्लो संविधान जारी भएपछि राजनीतिकरुपमा समेत महिलाको अधिकार र प्रतिनिधित्व सुनिश्चित हुँदै गएको बताए ।

दाहालले राज्यका विभिन्न तहमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित भइसकेको भन्दै सभामुख र उपसभामुख, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष सहित स्थानीय तहका प्रमुख र उपप्रमुखमा समेत फरक-फरक लिङ्गको प्रतिनिधित्व हुने गरी संवैधानिक व्यवस्था हुनुलाई उपलब्धि मान्नुपर्ने बताए ।

Nabintech