• १२ श्रावण २०८१, शनिबार
नेविसंघले पुल्चोक क्याम्पसमा ‘ह्याकाथुन’ आयोजना गर्ने


काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पुल्चोक क्याम्पसमा ‘ह्याकाथुन’ कार्यक्रम आयोजना गर्ने भएको छ।

पछिल्लो समय आमनागरिकले भोग्दै आएका समस्या समाधानको प्रयासका लागि नेविसंघले फागुन १६, १७ र १८ गते आयोजना गर्ने ‘ह्याकाथुन’ कार्यक्रम गर्ने भएको हो।

कार्यक्रममा सरकारी कार्यालयमा सेवाग्राहीले सेवा लिन नसकेका समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्नेबारे र कार्यालयबाट सेवाग्राहीले सेवा सुविधालाई प्रविधिको विकास र प्रयोगबाट कसरी छिटो, छरितो र चुस्त बनाउँछ भन्नेबारे चर्चा र प्रयोगहरू गरिने अध्यक्ष दुजाङ शेर्पाले बताए।

नेपाल स्टक एक्सचेन्ज (नेप्से), मोबाइल बैंकिङलगायतका क्षेत्रको सिस्टममा हुने त्रुटि र प्रविधि समस्यालाई समाधान गर्न विद्यार्थीहरूले कोडिङको मद्दतले सफ्टवेयरको विकास गर्ने उनले जानकारी दिए।

त्रिभुवन विश्वविद्यालयले लिएका परीक्षाको परीक्षाफल निकाल्न एक वर्ष भन्दा बढी समय लाग्दै आएकोमा शैक्षिक प्रविधिको विकासमार्फत् परीक्षा दिएको १५ दिन भित्र नतिजा सार्वजनिक गर्न प्राविधिक ज्ञान, सिपको प्रयोगबाट सहज र छिटो कसरी नतिजा सार्वजनिक गर्न सकिन्छ भन्नेबारे सिस्टमको विकास गरिने पनि शेर्पाको भनाइ छ।

सरकारी कार्यालयमा दस्तावेजको रुपमा राखिने कागजातहरू खोज्दा नभेटिने अवस्थाको अन्त्य गर्न सरकारी संयन्त्रलाई चुस्त–दुरुस्त राख्ने बारे विद्यार्थीहरूले राउन्ड टेबलमा बसेर कोडिङको मद्दतले सफ्टवेयरको विकास गर्ने पनि अध्यक्ष शेर्पाले बताए।

‘ह्याकाथुन’ कार्यक्रममार्फत् काठमाडौंलगायत देशभरका सहरहरूमा बढ्दो प्रदुषण र फोहर व्यवस्थापनलाई प्राविधिक सहायतामा समाधान गरेर सफा र सुन्दर बनाउन सकिनेबारे वैज्ञानिक प्रयोगका विषयमा सिस्टम तयार पारिने पनि नेविसंघले जनाएको छ।

Nabintech