• १२ श्रावण २०८१, शनिबार
राष्ट्रपतिमा दुई पूर्व सभामुख पौडेल र नेम्वाङको प्रतिस्पर्धा


काठमाडौं । राष्ट्रपतिमा दुई पूर्व सभामुखबीच प्रतिस्पर्धा हुने भएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले शनिबार संघीय संसद भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा गई मनोनयन दर्ता गराएका हुन् ।

राष्ट्रपतिका दुवै उम्मेदवार पूर्व सभामुख हुन् । रामचन्द्र पौडेल २०५१ साल पुस ३ गतेदेखि २०५५ साल चैत ९ गतेसम्म सभामुख थिए । सुवासचन्द्र नेम्वाङले २०६५ साउन १२ देखि २०६९ साल जेठ १४ गतेसम्म पहिलो कार्यकाल संसदको नेतृत्व गरेका थिए । २०७० फागुन ६ गतेदेखि २०७२ साल असोज २७ गतेसम्म दोस्रो कार्यकाल सभामुख भएर संसदको नेतृत्व गरेका थिए । दुवै संविधानसभामा पनि उनले संविधानसभा अध्यक्षको भूमिका निर्वाह गरे ।

कांग्रेस उम्मेदवार पौडेललाई सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रसहित ८ दलको साथ छ । उनी आवद्ध नेपाली कांग्रेसका साथै माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाको साथ छ ।

एमाले उम्मेदवार नेम्वाङको समर्थनमा अरु कुनै पनि दल खुलेका छैनन् । एमाले नेताहरुले भने १० पुसमा भएको सहमतिअनुसार नै नेम्वाङलाई उम्मेदवार बनाएकाले त्यो बेला एक ठाउँमा भएका दलहरुको समर्थन पाउने विश्वास व्यक्त गरेका छन् ।

Nabintech