• १६ चैत्र २०८०, शुक्रबार
मेयर बालेन शाहलाई कसले दियो राजीनामाको दबाव ?


काठमाडौँ । शनिवार अपराह्न ४ बजे काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमा एउटा सन्देश राखेका छन्– ‘मेयर पदबाट मलाई आज राजीनामा दिन लाउन खोजिँदैछ । यो देश कहिले पनि बन्दैन ।’ उनले आफूलाई कसले र किन राजीनामा गराउन खोजेको हो भन्ने कुरा स्पष्ट भने पारेका छैनन् ।

यसबारेमा जानकारीको लागि फोन गर्दा मेयर शाहले फोन काटे । फोन सम्पर्कमा आएका उनका स्वकीय सचिव भूपदेश शाहले मेयरले राखेको स्टाटसको बारेमा आधिकारिक धारणा नआएको बताउँदै त्यसबारेमा केही आए सबैलाई जानकारी गराउने भने ।   उनले भने– ‘यसमा अहिले आधिकारिक धारणा बनिसकेको छैन । आधिकारिक रुपमा भन्नलाई केही छैन । यसमा केही पनि छैन केही भयो भने हामी जानकारी गराउँछौँ । आधिकारिक रुपमा जानकारी गराउनुपर्ने रहेछ भने म सबैलाई जानकारी गराउँछु ।’

मेयर शाहले सो स्टाटस लेखेको २ घण्टामा ७७ हजारले लाइक गरेका छन् भने ११ हजारले कमेन्ट र ६ हजार ३ सय जनाले पोष्ट शेयर गरेका छन् । कतिपयले पुरै होस् हवासमा त लेखेको हो भन्दै प्रश्न समेत सोझ्याएका छन् ।  उनी स्वतन्त्र उम्मेदवार भएकोले उनलाई कुनैपनि राजनीतिक दलले राजीनामा माग्न सक्ने ठाउँ छैन । अर्कोतिर उनको राजीनामा माग्न महानगरपालिकामा कर्मचारीले वा अन्य कुनै पक्षले आन्दोलन पनि गरेका छैनन् । महानगरको सर्वोच्च पदमा रहेका उनलाई कसैले राजीनामा मागेको आधारमा वा आदेशमा पदबाट हटाउन सक्ने व्यवस्था पनि छैन ।

संविधानको धारा २१६ को उपदफा ८ मा रहेको व्यवस्था अनुसार यी तीन अवस्थामा मात्र नगर वा महानगर प्रमुखको पद रिक्त हुने व्यवस्था छ । प्रमुखले उपप्रमुख समक्ष र उपप्रमुखले प्रमुख समक्ष लिखित राजीनामा दिएमा वा निजको पदावधि समाप्त भएमा वा निजको मृत्यु भएमा । अन्यथा नगर वा महानगरप्रमुखको पद कसैले खोस्न सक्ने अवस्था छैन ।  शनिवारको दिन एक्कासि मेयर शाहले दिएको यस्तो सन्देशले आम मानिसमा कौतुहलता सिर्जना गरेको छ ।

Nabintech