• १४ बैशाख २०८१, शुक्रबार
बागमतीमा कांग्रेस संसदीय दलको चुनाव हुँदै, लामा र बानियाँबीच प्रतिस्पर्धा


हेटौडा । बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको निर्वाचन आज हुँदैछ । मतदान दिउँसो दुई बजेका लागि निर्धारण गरिएको छ ।

संसदीय दलको नेतामा केन्द्रीय सदस्य बहादुर सिंह लामा र बागमती प्रदेश सभापति इन्द्र बानियाँले मनोनयन दर्ता गरेका छन् । उनीहरु दुवै संस्थापन पक्षका हुन् ।

बानियाँ अघिल्लो पटक पनि दलको नेता थिए । अघिल्लो पटक संघीय संसदमा समानुपातिकबाट सांसद बनेका लामा यसपटक बागमती प्रदेश सभाका लागि उम्मेदवार भई निर्वाचित भएका हुन् ।

बागमती प्रदेश सभामा प्रत्यक्षबाट निर्वाचित २५ र समानुपातिकबाट १२ गरी कांग्रेसबाट कूल ३७ जना सांसद छन् ।

दलको नेता चयन गर्दा संस्थापन पक्षकै सांसदहरु दुईतिर विभाजित हुँदा शेखर समूह निर्णायक बन्न सक्छन् । यद्यपि यो समूह कतातिर खुल्ने हो टुंगो छैन ।

Nabintech