भदौ पहिलो सातासम्म टिकट बाँडफाँट टुंग्याइसक्ने कार्यदलको समयसीमा घर्कियो

मापदण्डमै अल्झियो गठबन्धन



काठमाडौं । सत्ता गठबन्धनले भदौ पहिलो सातासम्म टिकट बाँडफाँट टुंग्याइसक्ने तय गरेको थियो।

साउन २० गते ११ सदस्यीय कार्यदल गठन गरेर साउन अन्तिमसम्म मापदण्ड र भदौ पहिला सातासम्म टिकट बाँडफाँट टुंग्याउने समयसीमा तय भएपनि भदौ ७ गतेसम्म कार्यदल टुंगोमा पुगेको छैन।

गठबन्धनमा हालसम्म मापदण्डकै बारेमा छलफल भइरहेको नेताहरुले बताएका छन्। मापदण्डकै बारेमा छलफल गर्न सोमवार गठबन्धनको बैठक बसेको थियो। तर, बैठक निचोडमा पुग्न सकेन।

अर्को बैठक आज ३ बजेका लागि बोलाइएको छ। सोमवारको बैठकपछि कार्यदलका सदस्य तथा सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले गठबन्धन निचोडमा नपुगेको बताएका थिए।

के बनाउने मापदण्ड ?

कार्यदलले शनिवार सत्ता गठबन्धनका नेताहरुलाई कार्यदलमा भएको छलफलबारे जानकारी गराएको थियो। गठबन्धनका नेताहरुले चाडो सहमतिमा पुग्न कार्यदललाई निर्देशन दिएका थिए।

कार्यदलका सदस्य तथा नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले साझा अवधारणा बनाउने जिम्मा पनि कार्यदलले पाएकाले सोबारेमा पनि गृहकार्य भइरहेको जानकारी दिएका छन्। गठबन्धनको पहिलो बैठक साउन २३ गते बसेको थियो।

उक्त बैठकमै मापदण्डका बारेमा सदस्यहरुले आ-आफ्नो धारणा राखेका थिए। तर, साउन २६, साउन २९, भदौ १ र भदौ ४ गते गठबन्धनका नेतासहित बसेको कार्यदलको बैठकमा मापदण्डबारे ठोस् सहमति हुन सकेन।

२०७४ सालको चुनावमा गठबन्धनका तर्फबाट जुन दलले जितेको हो त्यसलाई दिएर बाँकी सिटलाई मात्रै भागबण्डा गर्ने प्रस्ताव कार्यदलमा छ। तर, त्यतिबेला एकीकृत समाजवादी पार्टी गठन भएको थिएन।

एकीकृत समाजवादीको हकमा उक्त मापदण्ड लागू नहुने कार्यदलका सदस्य बताउछन्। कार्यदलका सदस्य हिमलाल पुरीले मापदण्डबारे सहमति हुन नसकेपछि गठबन्धनका शीर्ष नेताहरु नै छलफलमा जुटिरहेको बताए।

हेभिवेट नेताकै ठाउँमा सकस

गठबन्धनले कार्यदल गठन गरी शीर्ष नेताहरुलाई जिताउने गरेर भागबण्डा गर्ने तयारी गरेको छ। तर, शीर्ष नेताहरुलाई टिकट दिँदा अर्को दलको नेतालाई व्यवस्थापन गर्न सकस भइरहेको कार्यदल सदस्यहरुले बताएका छन्।

प्रत्यक्षतर्फ १६५ प्रतिनिधिसभाको र ३३० प्रदेशसभाको टिकटमा भागबण्डा गर्नुपर्ने छ। आफ्नो आधार क्षेत्रमा गठबन्धनका नेताहरुले नछोड्ने अडान लिएपछि भागबण्डा झन पेचिलो बनेको हो।

सत्ता गठबन्धनका नेताहरुले जतिसक्दो चाडो भागबण्डा टुंग्याउनुपर्ने भन्दै शीर्ष नेताहरुलाई दबाब दिइरहेका छन्। स्थानीय तहमा पनि मनोनयनको दिन बैशाख ११ गते बिहान मात्रै गठबन्धनले अन्तिम टुंगो लगाएको थियो।

टिकट बाँडफाँट समयमा नहुँदा सोचेअनुसारको नतिजा नआएको सत्ता गठबन्धन दलका नेताहरु बताउछन्। नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष जयन्ती राईले अब धेरै वार्ता गरेर समय खेर फाल्न नहुने बताइन।

‘स्थानीय तहमा हामी कयौँ पटक बैठक बसेका थियौँ। टिकटको कुरा मिलाउन ढिलाइ भएपछि गठबन्धनलाई क्षति भयो। यसपटक टिकट बाँडफाडको कुरा समयमै टुग्याउनुपर्ने नेताहरुले बताएका छन् ।

Nabintech