बीमाको पैसा असुल्न आफ्नै गाडी जलाउन लगाए साहुले


काठमाडौं । दाङमा बीमाको रकम पाउन गाडीधनीले आफ्नै गाडिमा आगजनी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घोराही उपमहानगरपालिका वडा नं. १८ नवलपुरका गाडी धनी ४१ वर्षीय धनेश्वर भण्डारीको निर्देशनमा गाडी चालक ३२ वर्षीय अरूण चौधरी र सहचालक २६ वर्षीय आकाश चौधरी मिलेर टिपरमा आगो लगाएको तथ्य सार्वजनिक भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

उनीहरू तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

घटना शंकास्पद देखिनासाथ प्रहरीले सुरूमा चालक र सहचालकलाई नियन्त्रणमा लिएको थियो। उनीहरूको बयानका आधारमा भण्डारीलाई प्रहरीले पक्राउ गरेको थियो।

घोराही(लमही सडक खण्ड अन्तर्गत घोराही उपमहानगरपालिका वडा नं. ३ बबई पुलको पारिपट्टि कुइरेपानी जंगलमा रा १ ख १६९४ नम्बरको टिपरमा मंगलबार बिहान साढे ४ बजेतिर आगजनी भएको थियो।

उक्त टिपर दुई दिन अगाडि बिग्रिएर मर्मतका लागि ग्यारेजमा लगिएको तथ्य यस अघि नै जिल्ला प्रहरीले जानकारी दिइसकेको थियो।

गाडी चालक अरूण राप्ती गाउँपालिका वडा नं. ८ का हुन् भने सहचालक आकाश गढवा गाउँपालिका(७ का हुन्। अरूणले उक्त गाडी विगत सात वर्षदेखि चलाउँदै आएका थिए।

‘गाडी पुरानो भयो र मर्मत गर्दा धेरै खर्च हुने थाल्यो भनेर साहुले नै आगो लगाउन लगाएको तथ्य खुल्यो,’ एसपी काफ्लेले भने, ‘विप्लव लगायतका दलहरूले बन्दको आह्वान गरेपछि अघिल्लो दिन नै आगो लगाउने उद्धेश्यले ग्यारेजबाट गाडी झिकेको तथ्य खुल्यो।’

मर्मत खर्च धेरै आउन थालेपछि साहु भण्डारीले योजना बनाएर चालक र सहचालकलाई आगो लगाउन लगाएको एसपी काफ्लेले बताए।

पक्राउपछि चालकले गाडी धनीलाई समेत कुनै जानकारी नदिएर राप्ती गाउँपालिकास्थित आफ्नो घरतर्फ जान खोजेको भनेर बयान गर्नु, आगलागीपछि चालक र सहचालकले समयमै प्रहरीलाई खबर नगर्नुजस्ता कारणहरूले घटना शंकास्पद देखिएको यसअघि नै एसपी काफ्लेले बताएका थिए।

चालक र सहचालकले भने चार पाँच जना युवाको समूह आएर गाडीको अगाडिको भागमा आगो झोसेर भागेको बताउँदै आएका थिए ।

Nabintech