• १३ बैशाख २०८१, बिहीबार
बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई हटाउन कांग्रेस–माओवादीले गरे हस्ताक्षर अभियान


काठमाडों । बागमती प्रदेशको मुख्यमन्त्री परिवर्तनको कसरत सुरु भएको छ ।

सत्ता परिवर्तनको लागि काँग्रेस र माओवादी केन्द्र सक्रिय संघर्षमा उत्रिएका छन् । मुख्यमन्त्री परिवर्तनका लागि काँग्रेस र माओवादी केन्द्रका सांसदहरु हस्ताक्षर संकलनमा जुटेका छन् ।

बजेट पास भएलगत्तै मुख्यमन्त्री परिवर्तन गर्ने गरी काँग्रेस र माओवादी केन्द्रका सांसदहरुले एकीकृत समाजवादी विरुद्ध हस्ताक्षर संकलन कार्य सुरु गरेका छन् । मुख्यमन्त्री पाण्डेले सहज रुपमा सरकारको नेतृत्व गर्ने विषयको विगतको सहमती कार्यान्वयन गर्ने नदेखेपछि उनीहरु कांग्रेस र माओवादीले आफ्ना सांसदहरुको हस्ताक्षर संकलनमा जुटेका हुन् ।

काँग्रेसका सांसदहरुले सहमति अनुसार तत्काल मुख्यमन्त्री पाण्डेले राजीनामा गरेर सहजै सत्ता हस्तान्तरण गर्नुपर्ने माग गरेका थिए । उनीहरुको मागलाई बेवास्ता गर्दै मुख्यमन्त्री पाण्डेले केन्द्रीय नेतृत्वको निर्देशन कुर्ने बताएपछि काँग्रेस र माओवादी केन्द्रका सांसदहरु हस्ताक्षर संकलन जुटेको माओवादी केन्द्रका एक सांसदले बताए ।

उनका अनुसार आजको प्रदेशसभामा बजेट पास भएपछि सो विषयको थप प्रक्रिया अघि बढ्नेछ । ६ महिनापछि काँग्रेसलाई सरकारको नेतृत्व छोड्ने सहमती गर्दै एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष रहेका पाण्डे गत कात्तिक ११ गते गठबन्धनका दलहरु काँग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

बागमती प्रदेश सरकार परिवर्तनको लागि कुल १०७ जना सांसद् मध्ये ५४ जना सांसद्को समर्थन आवश्यक पर्छ । प्रदेशसभामा माओवादी केन्द्रका २३, काँग्रेसका २२, एकीकृत समाजवादीका १३, विवेकशील साझा पार्टीका ३, नेमकिपाका २, राप्रपाका २ र जसपाको एक सांसद् रहेको छ भने प्रदेशसभामा नेकपा एमालेका ४३ जना सांसद् रहेका मध्ये २ जना स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेपछि ४१ जना मात्र कायम रहेका छन् ।

मुख्यमन्त्री पाण्डेलाई तत्कालिन समयमा बागमती प्रदेशका कुल १०९ जना सांसदमध्ये ५९ सांसदको समर्थन रहेको थियो । मुख्यमन्त्री पाण्डेलाई माओवादी केन्द्रका २३, काँग्रेसका २२, एकीकृत समाजवादीका १३ र जसपाको एक सांसदको समर्थन रहेको छ भने प्रदेशसभामा नेकपा एमालेका ४३ जना सांसद् रहेका थिए ।

Nabintech