पर्यटनमन्त्री आलेलाई कारबाहीको माग गर्दै संसद सचिवालयमा उजुरी


काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध संसद सचिवालयमा उजुरी परेको छ।

अधिवक्ताहरू किशोर पौडेल र अनुपम भट्टराईसहित तीनजनाले आलेविरुद्ध आइतवार संसद सचिवालय सिंहदरबारमा उजुरी दिएका हुन्।

पौडेल, भट्टराई र कानुनकी विद्यार्थी रेजिना पौड्यालले संसद सचिवालयस्थित आचरण अनुगमन समितिको कार्यालयमा उजुरी दर्ता गराएका हुन्।

उनीहरुले उजुरीमा केही समययता डोटीका सांसद प्रेम आलेले विभिन्न व्यक्तिहरुसँग टेलिफोन तथा प्रत्यक्ष भेटघाटमा अश्लील शब्द प्रयोग गरेको अडियोसहितको समाचार आइरहेको बताएका छन्।

सांस्कृतिक मूल्य मान्यताको जगेर्ना गर्दै संस्कारयुक्त समाज निर्माण गर्ने जिम्मा पाएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत रहेका आलेले गत फागुन ३ गते सार्वजनिक भएको पहिलो टेलिफोन अडियोमा मुम्बईमा बस्ने एक नेपालीलाई अश्लील शब्द मात्रै प्रयोग गर्दै ठेगान लगाउनेसम्मको धम्की दिएको स्मरण निवेदनमा गरिएको छ।

त्यसपछि पनि उनले विभिन्न सार्वजनिक स्थानमा राजनीतिक दलका नेता तथा निजामति कर्मचारीहरुलाई अश्लील तथा अपशब्द प्रयोग गर्ने गरेको पाइएको निवेदनमा उल्लेख छ।

विवादबीच असार ३ गते शुक्रबार सुन्नै नसक्ने अडियो र सञ्चारमाध्यमहरुमा नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई हातपात गरेको समेत जानकारी आएको उनीहरुले जनाएका छन्।

त्यस्तै अध्यक्ष अधिकारीलाई टेलिफोनमा कुनै ठाउँमा कर्मचारी भर्ना नगरिदिएको रिसमा अत्यन्तै खेदजनक अश्लील शब्द प्रयोग गरिएको भेटिएको निवेदनमा उल्लेख छ।

‘सांसदको आचारसंहिताको बिषयमा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१६ को उपनियम (ख) अनुसार प्रतिनिधिसभा सदस्यहरुले समाजमा विद्यमान सार्वजनिक नैतिकता र आचरण अनुकूलको व्यवहार गर्ने उल्लेख छ’, निवेदनमा भनिएको छ, ‘यस्तै त्यही नियमको उपनियम (२) मा आचारसंहिता प्रतिनिधिसभाका पदाधिकारी र सदस्यको सार्वजनिक जीवनको सबै पक्षमा लागू हुने विषय समेत उल्लेख छ। यसरी नियमको बर्खिलाप गरी आफ्नै कार्यकक्षमै अपशब्द प्रयोग गर्दै भएको घटनालाई सामान्य विषय मान्न मिल्दैन। यसले नेपालको भाषा र संस्कृतिमाथि ठूलो चोट मात्रै पुर्याएको छैन, सामाजिक सुव्यवस्था तथा मर्यादामाथि साधिकार व्यक्तिबाटै निर्लज्ज प्रहार भएको छ।’

उनीहरुले जनप्रतिनिधिहरु सामाजिक तथा सांस्कृतिक मूल्य मान्यता र जिम्मेवारीबाट समेत विमुख भएको महशुस भएको जनाएका छन्।

‘यसरी सार्वजनिक भएको पहिलो टेलिफोन अडिओ माननीय सांसद प्रेम आलेले आफ्नो भएको स्वीकार गरिसक्नुभएको छ। दोस्रोको बिषयमा हालसम्म उहाँको सचिवालयबाट कुनै प्रतिक्रिया आएको छैन’, निवेदनमा अगाडि भनिएको छ, ‘भाषा राष्ट्रिय अभिव्यक्तिको माध्यम हो। नेपाली भाषा यसमा सबैभन्दा धनी मानिन्छ। राष्ट्रको भाषिक अस्तित्वलाई जोगाउदै देशको सांस्कृतिक विविधतालाई भाषाको माध्यमबाट विश्व मञ्चमा नेपाली पहिचान प्रदर्शन गर्नपर्ने पद हो, सांसद।’

उनीहरुले आलेले प्रयोग गरेका ती शब्द समाजमा बोल्न र सुन्न योग्य नरहेका पनि तर्क गरेका छन्।

‘के नेपालले यस्तै जनप्रतिनिधिबाट भाषा स्थापित गर्न खोजेको हो? यी र यस्तै गतिविधिका कारण आमजनताबीच जनप्रतिनिधिमूलक संस्थाप्रतिको विश्वासमा संशय पैदा हुनु स्वभाविकै हो।

यद्यपि यस्तै घटना दोहोरिरहने र आचारसंहिताविपरीत कार्य गर्ने माननीयलाई सम्मान गर्दै जाने हो भने आमराजनीतिक दलहरुप्रतिको वितृष्णा अझै बढ्न सक्ने भएकाले यस समितिसमक्ष आलेज्यूको अडियोको ल्याब परीक्षण गरी आवश्यक अनुसन्धानबाट कारबाहीका लागि सिफारिस गर्नुहुन अनुरोध गर्दछौं।’

Nabintech