लुम्बिनी प्रदेशका १२ जिल्लाको समन्वय समितिमा कसको नेतृत्व ?( हेर्नुहोस् सूचिसहित)


नेपालगन्ज । स्थानीय तह निर्वाचन सकिएसँगै लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा जिल्ला समन्वय समितिको निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ ।

समन्वय समितिमा गठबन्धन दलको नेतृत्व गरेको कांग्रेसले ६ प्रमुख र ३ उपप्रमुख जितेर पहिलो भएको छ । एमाले ४ प्रमुख र २ उपप्रमुख जितेर दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी माओवादीले २ प्रमुख र ५ उपप्रमुख जितेको छ । लोकतान्त्रिक समाजवादी पार्टी २ उपप्रमुख जितेको छ । सत्ता गठबन्धनमा रहेका जसपा र नेकपा एसले भने कुनै स्थानमा नेतृत्व पाएनन् ।

पछिल्लो पटक रुपन्देहीमा भएको निर्वाचनमा प्रमुखमा गठबन्धनबाट कांग्रेसका उमाकान्त चापागाईं र उपप्रमुखमा लोसपाका रामकृपाल धोबी निर्वाचित भएका छन् ।

दाङको जिसस प्रमुखमा कांग्रेसका नित्यानन्द शर्मा र उपप्रमुखमा चेतना चौधरी निर्वाचित भए । कपिलवस्तुको जिसस प्रमुखमा एमालेका बाबुराम आचार्य र उपप्रमुखमा लोसपाका रमेश कुर्मी निर्वाचित भए ।

त्यस्तै बाँकेको जिसस प्रमुख र उपप्रमुख काँग्रेसले जितेको छ । प्रमुखमा ज्ञानेन्द्रकुमार चौधरी र उपप्रमुख सीता कार्की निर्वाचित भए । गुल्मीको जिससमा काँग्रेस र माओवादीको गठबन्धन विजयी भयो । कांग्रेसका द्रोणबहादुर खत्री प्रमुख र माओवादी केन्द्रका तेजेन्द्र समाली मगर उपप्रमुख बने ।

अर्घाखाँचीको जिसस प्रमुख र उपप्रमुखसहित प्यानलै एमालेले जित्यो । प्रमुखमा जीवनारायण कोइराला र उपप्रमुखमा लक्ष्मी शर्मा ज्ञवाली विजयी भए ।

जिसस प्यूठानको प्रमुखमा कांग्रेसका धर्मबहादुर जीसी र उपप्रमुखमा माओवादीका दुर्गा रेग्मी निर्विरोध भएका थिए । पाँच दलीय गठबन्धन भएपछि एमालेले प्यूठानमा उम्मेदवारी नै दिएन ।

जिसस बर्दियामा कांग्रेस निर्विरोध भयो । प्रमुखमा सूर्यबहादुर विष्ट र उपप्रमुखमा अमिताकुमारी यादव चयन भए । नवलपरासीमा एमालेले प्रमुख जित्न सफल भएको छ । प्रमुखमा गठबन्धन दललाई पराजित गर्दै एमालेका रुद्धल यादव र उपप्रमुखमा माओवादीका रामदयाल चौधरी निर्वाचित भएका छन् ।

पाल्पामा एमालेको एकल बहुमतमा जिसस गठन भएको छ । प्रमुखमा टङ्कनाथ खनाल र उपप्रमुखमा काशिका गैरे ज्ञवाली निर्वाचित भए । रोल्पामा भने माओवादीको प्यानलै विजयी भयो । प्रमुखमा सीता आचार्य र उपप्रमुखमा कर्मलाल परियार निर्वाचित भए ।

यस्तै पूर्व रुकुममा पनि माओवादीले प्रमुख र उपप्रमुख दुवै जितेको छ । प्रमुखमा मेघबहादुर श्रेष्ठ र उपप्रमुखका मोहनबहादुर केसी निर्वाचित भए ।

Nabintech