• १३ बैशाख २०८१, बिहीबार
जिल्ला समन्वय समति बाँकेको प्रमुखमा कांग्रेसका चौधरी र उप-प्रमुखमा कार्की उम्मेदवार


नेपालगन्ज । नेपाली कांग्रेसले जिल्ला समन्वय समिति बाँकेको प्रमुखमा ज्ञानेन्द्र कुमार चौधरी र उपप्रमुखमा सीता कार्कीलाई उम्मेदवार बनाएको छ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय बोर्डको बैठकले चौधरी र कार्कीलाई प्रमुख र उपप्रमुखको उम्मेदवार बनाएको कांग्रेस बाँकेका सचिव सुधांशु कोइरालाले जानकारी दिए । चौधरी यसअघि जिल्ला समन्वय समितिमा उपप्रमुख थिए । चौधरी डुडुवाका वडा सदस्य हुन् भने । कार्की कोहलपुर नगरपालिकाकी वडा सदस्य हुन् । जिल्ला समन्वय समितिको जेठ २७ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ता भइरहेको छ । मनोनयन दर्ताको समय दिउँसो २ बजेसम्म तोकिएको छ । जिल्ला समन्वय समितिमा कांग्रेसको स्पष्ट बहुमत छ । कांग्रेसका १२ जना मतदाता छन् ।

गाउँपालिका र नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरु समेत जिल्ला समन्वय समिति प्रमुखमा उम्मेदवार हुन पाउँछन् । जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख चुनिनका लागि मतदान भने गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मात्रै मतदान गर्न पाउँछन् ।

जिल्ला समन्वय समितिमा प्रमुख र उपप्रमुख सहित ९ सदस्य निर्वाचित हुन्छन् । समितिमा तीन सदस्य महिला अनिवार्य हुने व्यवस्था छ । स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार गाउँपालिका र नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरु समेत जिल्ला समन्वय समितिमा उम्मेदवार हुन पाउँछन् ।

अन्य तीन जना सदस्यहरु गाउँपालिका र नगरपालिकाबाट निर्वाचित सदस्यहरुबाट उम्मेदवार भएर आउँछन् । उनीहरु पनि जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख जस्तै गरी निर्वाचित हुनुपर्ने ऐनमा व्यवस्था छ ।

जिल्ला समन्वय समिति गठन भएपछि जिल्ला सभा गठन हुनेछ । जिल्ला सभाको प्रमुख र उपप्रमुखमा जिल्ला समन्वय समितिकै प्रमुख र उपप्रमुख हुनेछन् भने गाउँपालिका र नगरका प्रमुख उपप्रमुखहरु पदेन सदस्य हुनेछन् ।

Nabintech