• ११ बैशाख २०८१, मंगलवार
पूर्वराजा वीरेन्द्रको सालिक राख्न खोज्दा नेपालगञ्जमा झडप


नेपालगन्ज । बाँकेको नेपालगञ्जस्थित धम्बोजी चोकमा पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेपछि प्रहरीसँग झडप भएको छ। ।
सो क्रममा प्रहरीले केही राउण्ड हवाइ फायर समेत गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरुले आफूखुसी वीरेन्द्रको शालिक ल्याएर राख्न खोज्न तनाव सृजना भएको बताए ।

‘राजनीति दलको सहमति बिना एकाएक शालिक ल्याएर राखेछन् । त्यसपछि अन्य पार्टीले विरोध गर्दा तनावको स्थिति सृजना भएको हो । प्रहरीले केही राउण्ड हवाई फायर पनि गरेको हो,’ खत्रीले भने ।

विरोधमा उत्रेका स्थानीय जनतामाथि बल प्रयोग गर्दै प्रहरीले सालिक हटाएको छ ।

वीरेन्द्रचोकमा रहेको राजा वीरेन्द्रको पूर्णकदको सालिक दोस्रो जनआन्दोलनमा भत्काइएको थियो । राजतन्त्र पक्षधर युवाहरुले त्यहाँ नयाँ सालिक राखेपछि प्रहरीले हस्तक्षेप गर्‍यो ।

झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । झडप भएपछि सो स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । वीरेन्द्रको मृत्यु भएको आजै २१ वर्ष पूरा भएको छ ।

Nabintech