• १४ बैशाख २०८१, शुक्रबार
बर्खा लागेसँगै मेलम्ची सुरुङको ढोका बन्द गरियो,अब पानी दशैं तिहारमा मात्रै आउने


काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा पानी पठाउन बन्द गरिएको छ । वर्षायाम सुरू भएसँगै टनेलमा क्षती नपुगोस् भनेर सिन्धुपाल्चोक हेलम्बुस्थित अम्बाथानको सुरङमा पानी बन्द गरिएको हो ।

गत ११ वैशाखबाट सरकारले सिन्धुपाल्चोकस्थित बाँधस्थलमा अस्थायी संरचना तयार गरेर काठमाडौंमा पुनः मेलम्चीको पानी वितरण थालेको थियो । अस्थायी बाँध बाँधेर सिधै सुरुङमा पानी हालिएकाले वर्षायाममा सुरुङमा हुनसक्ने जोखिमलाई ध्यान दिएर सुरुङ बन्द गरिएको आयोजनाका एक अधिकारीले बताए ।

उनका अनुसार जल तथा मौसम विज्ञान विभागसँग मौसमी अवस्थाबारे परामर्श लिएर सुरुङ बन्द गरिएको हो ।

‘असोज मसान्तसम्मका लागि भनेर सुरुङ बन्द गरेका हौं, त्यो बेलासम्म मौसम र वर्षाको अवस्था कस्तो हुन्छ, त्यही हेरेर सुरुङको ढेका खोल्छौं,’ उनले भने । ‘नियमित वर्षा रोकिएपछि फेरि मेलम्चीको पानी सुरुङमा हाल्ने र काठमाडौं ल्याएर वितरण थाल्ने योजना समितिको छ ।

एकैपटक बन्द गर्दा टनेलमा समस्या आउन सक्ने भन्दै बिस्तारै बन्द गरिने उनको भनाइ छ ।

समितिले यसअघि नै बर्खा सुरू भएसँगै टनलेमा पानी पठाउन बन्द गरिने बताएको थियो । मौसमलाई हेरेर सुरूङमा पानी बन्द गरिएको पौडेलले बताए ।

समितिले जेठ १० गतेतिर नै बन्द गर्न खोजेपनि १९गतेदेखि मनसुन भित्रिने मौसम विभागले जानकारी दिएकाले केही पछि धकेलिएको हो ।

गत असार १ गते राति भ्रेमाथाङमा गएको पहिरोले मेलम्ची खानेपानी आयोजनाको मुहानमा क्षति पुगेको थियो । लेदोसहित आएको बाढीले मुहानमा भएको आयोजनाको संरचना पुरेको थियो । बाढी आउनुअघिको बिहान मात्रै सुरुङ परीक्षणका लागि भनेर मुहान बन्द गरेको थियो ।

समयमै मुहान बन्द गर्नाले बाढीले मुहानभित्र भने खासै क्षति पुयाएको थिएन । तर बाढीले आयोजनाको संरचना पुर्नुको साथै आयोजनास्थलपुग्ने सडकसञ्जाल समेत टुटेको थियो । बाढीले आयोजनामा क्षति पुयाएपछि मेलम्चीको पानी खान पाइन्छ कि पाइन्दैन भन्ने अन्यौल सिर्जना भएको थियो ।

त्यसअघि चैत दोस्रो साता पहिलोपटक मेलम्चीको पानी काठमाडौंमा वितरण गरिएको थियो । काठमाडौंबासीले साढे दुई महिना मात्रै पानी खान पाएका थिए । असार १ गतेराति आएको बाढीले क्षति पुयाउँदा फेरि काठमाडौंबासीले मेलम्चीको पानी खान पाउने हो की होइन भन्ने दोधारमा थियो ।

तर मंसिरदेखि मुहानमा रहेको ग्रेगान सफा गरेर पुन गत बैशाखदेखि काठमाडौंबासी पानी खुवाउन थालेको थियो । आयोजनास्थलमाथि पहिरोको जोखिम कायम नै रहेकाले मुहानमा थप क्षति नहोस् भन्नका लागि वर्खा अगाडिनै पानी पठाउन बन्द गरिएको हो ।

 

Nabintech