नेपालगञ्जमा गठबन्धनमा अन्तरघात हुँदा जसपालाई फाइदा


नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरमा कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा गठबन्धनभित्र अन्तर्घात भएको छ ।

नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाबीचको गठबन्धनमा अन्तर्घात भएको हो ।गत वैशाख ३० गतेको निर्वाचनमा गठबन्धन रहेको काँग्रेस–जसपा कार्यपालिका सदस्य निर्वाचनमा फुटेर नयाँ गठबन्धन काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाबीच स्पष्ट बहुमत हुँदा हुँदै पनि गठबन्धनका तीन जना उम्मेदवार पराजित गराउँदै जसपाले फाइदा उठाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको कार्यपालिका सदस्य निर्वाचनका लागि सोमबार मतदान भएको थियो । ८ जना सदस्यका लागि भएको निर्वाचनबाट नेपाली काँग्रेसका ३ जना, जनता समाजवादी पार्टी (जसपा) नेपालका ३ जना र राष्ट्रिय प्रजातन्त्र पार्टीका २ जना निर्वाचित भएका छन् ।

कार्यपालिका सदस्य निर्वाचनमा एकातिर कांग्रेस, माओवादी, राप्रपा र नेकपा एकीकृत समाजवादी (एस) बीच तालमेल भएको थियो भने अर्कोतिर जसपा र नेकपा एमालेबीच गठबन्धन थियो । कांग्रेस, माओवादी, राप्रपा र नेकपा एस गठबन्धनको स्पष्ट जित्ने संख्या हुँदाहुँदै पनि जसपा ३ जना सदस्य जित्न सफल भएको छ । काँग्रेसका ४२, माओवादीका ११ र राप्रपाका १४ जना गरी ६७ मतदाता थिए ।

५ जना निर्वाचित हुने महिला सदस्यहरुमा काँग्रेसबाट अमृता कुमारी सिंह, कुमारी पुष्पा सिंह र संगिता रेग्मी, जसपाकी शोभा खटिक र राप्रपाकी विना थापा विजयी भएका छन् । यस्तै ३ जना निर्वाचित हुने दलित वा अल्पसंख्यक सदस्यमा जसपाका बसन्त कनोजिया र मोहम्मद मुजम्मिल हुसैन हलवाई र राप्रपाका विक्रम चिडिमार विजयी भएका छन् ।

बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा काँग्रेससँग गठबन्धन गरेर नगर उपप्रमुख जितेको जनता समाजवादी पार्टी ९जसपा० नेपालले कार्यपालिका सदस्य निर्वाचनमा नेकपा एमालेसंग तालमेल गरेको थियो । एमालेका २५ जना र जसपाका २५ जना जनप्रतिनिधि गरी ५० जना मतदाता हुन् । तर, काँग्रेस–माओवादी–राप्रपा र नेकपा एस गठबन्धनबाट जसपाका उम्मेदवारहरुले मत तानेका छन् ।

Nabintech