• ११ बैशाख २०८१, मंगलवार
सुर्खेतको वीरेन्द्रनगरमा गठबन्धनलाई हराउदै एमालेकी मोहनमाया विजयी


काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा मोहनमाया ढकाल र उपमेयरमा नीलकण्ठ खनाल निर्वाचित भएका हुन् ।

गठबन्धनका उम्मेदवार उपेन्द्र खड्कालाई ५५४ मत अन्तरले पराजित गर्दै ढकाल मेयरमा विजयी भएकी हुन् । ढकालले १६ हजार ३८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उपेन्द्र खड्काले १५ हजार ४८४ मत पाए । राष्ट्रिय प्रजातन्त्र पार्टीका मुकुन्दश्याम गिरीले १० हजार ६ मत पाएका छन् ।

उपमेयरमा विजयी खनालले २० हजार ३६४ मत पाएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रकी शान्ति ढकालले ११ हजार ५३३ मत पाइन् । त्यस्तै राप्रपाकी लक्ष्मीकुमारी सार्कीले ३ हजार ६९७ मत पाएकी छन् ।

वीरेन्द्रनगर नगरपालिकामा २०७४ को स्थानीय निर्वाचनमा कांग्रेस मेयरमा निर्वाचित भएको थियो । तर यसपटक भने गठबन्धन गर्दा पनि पराजित भयो । मेयरमा विजयी ढकाल निवर्तमान उपमेयर हुन् । २०७४ मा एमालेका बलाराम शर्मा मेयरमा पराजित हुँदा ढकालले अत्याधिक मत सहित उपमेयर जितेकी थिइन् ।

को हुन् मोहनमाया ढकाल ?

२७ चैत २०३६ मा वीरेन्द्रनगर-१६, गर्पन मेहेलीमा जन्मिएकी ढकाल हाल वीरेन्द्रनगर-८ की स्थायी बासिन्दा हुन् । २०५६ सालमा शिक्षा क्याम्पस सुर्खेतको अनेरास्ववियु प्रारम्भिक कमिटी सदस्य हुँदै विद्यार्थी संगठनबाट राजनीतिक यात्रा सुरु गरेकी ढकाल हाल नेकपा (एमाले)को केन्द्रीय सदस्य छिन् ।

२०५६ मा अनेरास्ववियु शिक्षा क्याम्पस सुर्खेतको प्रारम्भिक कमिटी सदस्य, २०५७ मा अनेरास्ववियुको जिल्ला कमिटी कोषाध्यक्ष तथा महिला विभाग प्रमुख र २०५९ मा १६औं अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियनको राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद् सदस्यमा आवद्ध भइन् ।

२०६० देखि २०६२ सम्म विद्यार्थी राजनीतिमै सक्रिय रहेकी ढकाल २०६२ मा पार्टी राजनीतिमा प्रवेश र दुई कार्यकाल अखिल नेपाल महिला संघको नेतृत्व चलाइन् । हाल उनी नेकपा एमालेको केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला सह–इन्चार्ज छिन् ।

सुर्खेतको राजनीतिक वृत्तमा ढकाल इमानदार, निष्कलंक र साहसिक नेताका रूपमा परिचित छिन् । पाँच वर्षसम्म उपप्रमुखको पद सम्हालेकी ढकाललाई नगरबासीले पुनः पाँच वर्षका लागी मेयरमा चुनेका छन् ।

राजनीतिशास्त्रमा स्नातकोत्तर ढकालले उपप्रमुखमा निर्वाचित भएसँगै कानुनमा स्नातक गरेकी छिन् । अध्ययन र क्षमताको बलमा उनी कर्णाली प्रदेशमै न्यायिक समितिमध्ये अब्बल काम गर्ने उपप्रमुख थिइन् ।

ढकाल २०७४ को स्थानीय निर्वाचनमा १६ हजार ६८ मत ल्याएर वीरेन्द्रनगरको उप–प्रमुख पदमा विजयी भएकी थिइन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी जानकी सिंहले १४ हजार २६ र माओवादी केन्द्रकी हरिमाया शर्माले ४ हजार ६८९ मत प्राप्त गरेकी थिइन् ।

 

Nabintech