• ११ बैशाख २०८१, मंगलवार
नेपालगञ्ज उपमहानगर :गठबन्धनका प्रशान्तलाई सहज,एमालेलाई चुनौती,राप्रपालाई विरासत जोगाउनै मुस्किल


काठमाडौं ।आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा पनि चुनावी माहोल तातेको छ। उम्मेदवारहरू नतिजा आफ्नो पक्षमा पार्नका लागि मतदाताको घरदैलोमा पुगिरहेका छन्।

नेपालगञ्जमा २०७४ को स्थानीय तहको निर्वाचनको विजय यात्रालाई कायम राख्ने चुनौती अहिलेका प्रतिस्पर्धीमा देखिएको छैन। यसअघि राप्रपाबाट धवलशम्शेर राणाले उपमहानगरको प्रमुखमा जित हासिल गरेका थिए। तर, उनी अहिले चुनावी दौडमा छैनन्। त्यसैले पाँच दलीय सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमाले चुनावी परिणाम आ–आफ्नो पक्षमा पार्न रणनीति बनाएर अघि बढेका छन्। पाँच दल एक ठाउँमा भएकाले गठबन्धनले आफ्नो सहज जित हुने दाबी गरिरहेको छ। उता एमाले जसरी पनि गठबन्धनभित्रको असन्तुष्टिलाई आफ्नो पक्षमा पारेर चुनावी नतिजा हात पार्ने रणनीति अख्तियार गरेर अघि बढेको छ।

नेपालगञ्जको प्रमुख र उपप्रमुखमा कांग्रेस र जसपाले तालमेल गरेका छन्। गठबन्धनबाट प्रमुखका लागि कांग्रेसका प्रशान्त विष्ट चुनावी मैदानमा छन्। उपप्रमुखमा जसपाबाट कमरुद्दीन राई उम्मेदवार बनेका छन्। राईले २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम, नेपालबाट मेयरमा चुनाव लडेका थिए। उनीहरुलाई नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सत्ता गठबन्धनमा छन्।

यता एमालेले पार्टीका केन्द्रीय सदस्यसमेत रहेका पशुपतिदयाल मिश्रलाई मेयरको उम्मेदवार बनाएको छ। एमाले नेपालगञ्जमा एक्लै चुनावी प्रतिस्पर्धामा देखिएको छ। राप्रपाबाट नन्दलाल वैश्य मेयरका उम्मेदवार छन्।

एमालेले राप्रपासँग तालमेलका लागि प्रयाससमेत गरेको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपाका महामन्त्री धवलशम्शेर राणासँग नेपालगञ्जमा भेटवार्ता गरेका थिए। तर, तालमेल हुन सकेन।

एमालेको तर्फबाट मेयरका उम्मेदवार पशुपतिदयाल मिश्र गठबन्धन ुअसफलु भइसकेकाले आफ्नो जित निश्चित रहेको दाबी गर्छन्। ‘२०७४ सालमा पनि गठबन्धन भएको थियो। तर, त्योभन्दा फरक नतिजा आयो,’ उनी भन्छन्,‘अहिले गठबन्धन भए पनि केही फरक पर्दैन। नेपालगञ्जका जनताले विकास गर्ने पार्टी र विकासप्रेमी मान्छेलाई भोट दिन्छन्।’

नेकपा एमाले नेतृत्वको सरकारले गरेका महत्वपूर्ण विकासका काम र अहिले आएको जनलहरले एमालेको जित सुनिश्चित भएको उनले बताए। हृदयेश त्रिपाठी समूहका मिश्र सूर्य चुनाव चिन्ह लिएर २०७४ सालमा संघीय संसदका लागि बाँके क्षेत्र नं। ३ मा उम्मेदवार भएका थिए। तर, उनी पराजित भए। केही समयअघि मात्रै एमाले अध्यक्ष ओलीले उनलाई एमालेमा भित्र्याएका थिए।

पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका प्रशान्त विष्ट भने नेपालगञ्जमा गठबन्धनको प्रतिस्पर्धा अन्य कुनै पार्टीसँग नहुने बताउँछन्। ‘हामीले मेयर र उपमेयरमा तालमेल गरेका छौं। वडा तहमा हाम्रो मित्रवत प्रतिस्पर्धा हुन्छ,’ उनले भने, ‘एमाले र राप्रपा आउनेजस्तो ठाउँ देखिएमा त्यहाँ हामी गठबन्धनले एकअर्कालाई सहयोग गर्छौं।’

पाँचदलीय सत्ता गठबन्धनले नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा मात्रै भागबन्डा गरेको छ। तर, त्यहाँका २३ वटै वडा तहमा भने पाँचदलीय गठबन्धनमा रहेका दलहरुले एक्लाएक्लै प्रतिस्पर्धा गरेका छन्। उनीहरुले वडामा छुट्टाछुट्टै उम्मेदवारी दिएका छन्। चुनावी प्रचार प्रसारलाई पनि त्यसै हिसाबले अघि बढाइरहेका छन्।

एमालेका मेयरका उम्मेदवार मिश्र नेताहरुको गठबन्धनले कुनै समस्या नगर्ने भन्दै आफूहरुले जनताको विश्वास जित्ने दाबी गर्छन्। ‘प्रमुख र उपप्रमुखमा मात्रै मिलेका छन्। अन्यमा एक्लाएक्लै छन्,’ उनले भने, ‘हामीसँग जनताको गठबन्धन छ। एमालेको कामबाट जनता प्रभावित छन्।’

नेपालगञ्जमा गठबन्धन र एमालेबीचमा नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। राप्रपामा यसअघिको निर्वाचनमा ‘हेभी वेट’ नेता धवलशम्शेर राणा प्रतिस्पर्धामा भएकाले मात्रै चुनाव जितेको राप्रपाका नेता नै बताउँछन्। ‘राप्रपाको अवस्था राम्रो हुन सक्थ्यो तर, २०७४ सालको तुलनामा अहिले हेभी वेट नेतालाई टिकट नै दिइएन,’ राप्रपाका एक नेताले भने, ‘नेपालगञ्जमा पार्टीभन्दा पनि नगरवासीले राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने मान्छे खोज्ने गर्छन्।’

नेपालगञ्ज उपमहानगरपालिकामा २०७४ को निर्वाचनमा दलका उम्मेदवारले पाएको मतभारलाई हेर्न हो भने एमाले र राप्रपाभन्दा धेरै मतभार गठबन्धन दलसँग देखिन्छ। त्यतिबेला ६२ हजार ३९७ मतदाता रहेको नेपालगञ्जमा अहिले बढेर ८१ हजार ७९४ पुगेको छ। त्यहाँ थपिएका १९ हजार ३९७ मतदाता निर्णायक हुने देखिन्छन्।

यसअघिको निर्वाचनमा ४८ हजार ६६९ मत खसेको थियो। त्यसमध्ये ४१ हजार ८५३ मत सदर भएको थियो भने ६ हजार ८१६ मत बदर भएको थियो। राप्रपाका धबलशम्शेर जबरा १२ हजार ५१५ मत प्राप्त गरेर निर्वाचित भएका थिए। कांग्रेसबाट उम्मेदवार बनेका सुरेशकुमार कनोडियाले ८ हजार ७३० मत प्राप्त गरेका थिए। त्यस्तै नेकपा माओवादी केन्द्रका दामोदर आचार्यले ७ हजार १९८, उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमका कमरूद्दीन राईले ५ हजार ४४१ र एमालेका समसुद्दीन सिद्दिकीले ६ हजार ९६५ मत प्राप्त गरेका थिए।

२०७४ मा प्राप्त मतलाई आधार मान्ने हो भने अहिले गठबन्धनमा रहेका दलको मतभार धेरै हुने देखिएको छ। २०७४ मा नै तेस्रो भएको एमालेलाई अहिले पाँच दल एकातिर भएर चुनाव लड्दै गर्दा जित निकाल्न कठीन हुने देखिन्छ।

 

 

 

Nabintech