मतदाता शिक्षा दिएर भोट माग्दै बैजनाथ कांग्रेसका उम्मेदवार


कोहलपुर । निर्वाचन आयोगले विगतका निर्वाचनमा मतदाता शिक्षालाई निकै महत्व दिए पनि बदर मत घटाउन सकिएको छैन् ।

त्यसै कुरालाई मध्यनजर गर्दै बैजनाथ कांग्रेस गाँउपालिकाका अध्यक्ष, उपाधयक्ष तथा वडाअध्यक्ष, सदस्य सहितका उम्मेदवार र  कार्यकर्ताहरु आफै पनि नमुना मतपत्रको प्रयोग गरी मतदाता शिक्षा दिदै गाँउघरमा भोट मागिरहेका छन् ।

यसपटक मतदाता शिक्षाको कार्यक्रम नै नहुॅदा बदर मत अझै बढ्न सक्ने अनुमान गरिएको छ । विगतमा निर्वाचनमा स्वास्थ्य स्वयम्सेविका र वालविकासका सहजकर्ताहरूलाई मतदाता शिक्षामा परिचालन गरिन्थ्यो । उनीहरू नमुना मतपत्र बोकेर घर घरै पुगेर मतदातालाई मतदान गर्ने तरिका सिकाउथे । तर पनि बदर मतको संख्यामा कमी आउन सकेको थिएन ।

‘यसपाली एफएम र पत्रपत्रिकाबाट मात्रै मतदाता शिक्षा दिने भन्ने छ, वजेट धेरै छैन,’ जिल्ला निर्वाचन अधिकारी बाँकेका रमा पन्तले भने, ‘केन्द्रको स्वयम्सेविकाले पनि मतदाता शिक्षा दिने भन्ने छ ।’

उनका अनुसार कार्यक्रम र वजेट नआएका कारण विगतजस्तो मतदाता शिक्षा दिन नसकिएको हो । उम्मेदवार स्वयम र पार्टीको पनि मतदाता शिक्षा दिने दायित्व भएकाले उहाँहरु आफै पनि मतादाता शिक्षालाई जोड दिनु राम्रो भएको निर्वाचन अधिकारी पन्तको भनाइ छ।

विगतको स्थानीय तहको निर्वाचनमा ग्रामीण भेगका पालिकाहरूमा बढी मत बदर भएका छन् ।

Nabintech