• ७ बैशाख २०८१, शुक्रबार
नेपालगन्ज उपमहानगरपालिकामा विष्ट, मिश्र र वैश्य मध्ये कसको पल्ला भारी ?


नेपालगन्ज । बाँकेको नेपालगन्ज शहरको तापक्रम ४१ डिग्री सेल्सियस माथि पुगेको छ।

तापक्रमसँगै पश्चिम नेपालकै एक प्रमुख व्यापारिक केन्द्र नेपालगन्जमा यतिखेर राजनीतिक गर्मी पनि ह्वात्तै बढेको छ। दलहरू वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न प्रचण्ड गर्मीको समेत प्रवाह नगरी घर दैलो गरिरहेका छन्।

सम्भव भएसम्म भोट माग्दै उत्साहका साथ दलबलसहित घर-घर र टोल-टोलमा पुगिरहेका छन्। नेपालगन्जमा राप्रपालाई विरासत जोगाउने चुनौती छ।

नेपालगन्जको मेयरमा मुख्य गरी तीन पार्टीका बीचमा प्रतिष्पर्धा हुने देखिएको छ। जहाँ गठबन्धन दलबाट नेपाली कांग्रेसका नेपालगन्ज उपमहानगरका सभापति ४३ वर्षीय प्रशान्त बिष्ट मेयरमा र जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष कमरूद्दिन राई उपमेयरका उम्मेदवार छन्।

नेपालगन्जमै जन्मे हुर्केका बिष्ट महेन्द्र बहुमुखी क्याम्पसबाट नेविसंघको विद्यार्थी राजनीतिबाट आएका युवा हुन। उनी नेविसंघ बाँकेको अध्यक्ष, नेविसंघको केन्द्रीय सदस्य र त्यसपछि विगत तीन कार्यकाल लगातार कांग्रेसको नगर सभापतिको नेतृत्व गर्दै आएका छन्।

त्यस्तै नेकपा एमालेबाट केन्द्रीय सदस्य पशुपति दयाल मिश्र मेयर र केन्द्रीय सदस्य शान्ति ढकाल उपमेयरका उम्मेदवार छन्।

मिश्र २०७४ सालमा बाँके क्षेत्र नं २ को संघीय सांसदमा सूर्य चिन्हबाट लडे पनि पराजित भएका थिए। त्यतिबेला उनी हृदयश त्रिपाठीको पार्टीमा आवद्ध रहे पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए।

मिश्र गत मंसिरमा मात्रै नेकपा एमालेमा प्रवेश गरेका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नन्दलाल वैश्य मेयरमा र बिन्दु चर्ती मगर उपमेयरमा उठेका छन्।

वैश्य स्थानीय तहको निर्वाचनको मनोनयन दर्ता गर्नुभन्दा हप्ता दिनअगाडि मात्रै नेकपा माओवादी त्यागेर राप्रपामा पार्टी प्रवेश गरेका हुन। उनी व्यापारिक नेता हुन्। नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका वैश्यको उद्योगी व्यापारीमा राम्रो पकड रहेको स्रोत बताउँछ।

उपमेयरकी उम्मेदवार बिन्दु चर्ती मगर पनि वाणिज्य संघको कार्यसमिति सदस्य हुन। उनी लामो समयदेखि राप्रपामा रहेर राजनीति गर्दै आएकी छन्।

नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौंडेलले नेपालगन्जमा गठबन्धनका उम्मेदवारले सानदारपूर्वक जित्ने दाबी गरे।

‘हामी जितको संघारमा पुगिसकेका छौं,’ सभापति गौंडेलले भने, ‘ जेठ १ गतेको प्रतीक्षा मात्रै गर्न बाँकी हो।’नेपाली कांग्रेसको मजबुत संगठन निर्माणलाई नै गौंडेलले जितको प्रमुख आधारमा रूपमा प्रस्तुत गरे।

‘गत वर्ष कागताली परेर राप्रपाले जितेको हो,’ गौंडेलले प्रश्न गरे, ‘उसको संगठन खै कहाँ मजबुत् देख्नुभएको छ ?’ संगठनभन्दा पनि व्यक्तिका कारण २०७४ सालको निर्वाचनमा राप्रपाले निर्वाचन जितेको उनको तर्क थियो।

त्यतिखेर राप्रपाका महामन्त्री धवलशम्शेर राणाले प्रतिस्पर्धीभन्दा फराकिलो मतान्तरले मेयर जितेका थिए।

गौंडेलले गठबन्धनका साझा उम्मेदवार बिष्ट अन्य प्रतिष्पर्धीभन्दा मेयर पदमा सबैभन्दा कान्छा तर सशक्त उम्मेदवार भएको बताए।

‘उनी दश वर्ष कांग्रेसको नगर नेतृत्व गरेका लोकप्रिय युवा नेता हुन,’ गौंडेलले भने, ‘विद्यार्थी हुन् वा युवा, अग्रज हुन वा जेष्ठ नागरिक बिष्ट प्रत्येकको मनमा छन्।’ उच्च शिक्षा हासिल गरेका बिष्ट प्रत्येक टोल, गाउँ र घर-घरमा पनि भिजेको गौंडेलले दाबी गरे।

बिष्टलाई नजिकबाट चिन्नेहरूले पनि उनी खुल्ला दिलको र सहयोगी भावनाको युवा राजनीतिज्ञ भएको तर्क गरे।

‘कतै कुनै पनि काम परे वा समस्या परे उहाँ बोलाएको ठाउँमा जतिखेर पनि आउनुहुन्छ,’ एक युवाले भने, ‘बिष्टजस्तो युवाले जिते नेपालगन्जले थप तरक्की गर्ने छ।’

उनले यतिखेर नेपालगन्जको मेयरमा बिष्टको उम्मेदवारी सबैका लागि एउटा ठूलो धक्का र ‘धावा’ समान बन्न पुगेको तर्क गरे।

कांग्रेस सभापति गौंडेलको मेयर सहजै जित्छौं भन्ने अर्को मुख्य आधार गठबन्धन भित्रका दलहरूको अंकगणित पनि हो।

उनका अनुसार २०७४ सालको निर्वाचनमा नेपालगन्ज उपमहनगरमा मतदाता करिब ७० हजारको हाराहारीमा थिए। जतिखेर राप्रपाबाट निर्वाचित हुने मेयरले १२ हजारको हाराहारीमा मत पाएका थिए। त्यसपछि दोस्रोमा नेपाली कांग्रेसका उम्मेदवारले करिब ८ हजार, नेकपा माओवादीले करिब ७ हजार, नेकपा एमालेले करिब ६ हजार र जसपाका उम्मेदवारले करिब ५ हजार मत प्राप्त गरेका थिए।

यसपालि पाँच दलीय गठबन्धनका कारण कांग्रेस, माओवादी र जसपाको मत जोड्दा मात्रै २० हजार पुग्ने गर्छ। त्यस्तै २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तत्कालीन नेता तथा मेयरका उम्मेदवार समसुद्धिन सिद्धिकी यतिखेर नेकपा एकीकृत समाजवादी पार्टीमा रहेका हुँदा पनि उनको प्रभाव पनि परे झनै त्यो गणित थपिने विश्वास गठबन्धनका नेताहरूमा छ।

यसपटक मतदाता थपिएर ८० हजारको हाराहारीमा पुगेका छन्। त्यो थपिएको युवा जमातले पनि मेयरका सबैभन्दा कान्छा र युवाका प्रिय पात्र भएकै कारण बिष्टलाई मतदान गर्ने विश्वास गौंडेलले व्यक्त गरे।

नेपालगन्जमा मधेसी समुदायको बाक्लो बसोबास हो। त्यहाँ जसपाको पकड पनि निकै मजबुत मानिन्छ। जसपाकै जिल्ला अध्यक्ष कमरुद्धिन राई गठबन्धनबाट उपमेयरको उम्मेदवार रहेको हुँदा मधेसी समुदायको मत र माओवादी लगायतको मत थपिँदा गठबन्धनका उम्मेदवार विजयी हुने निश्चित रहेको कांग्रेस सभापति गौंडेलले दाबी गरे।

नेकपा एमाले बाँकेका जिल्ला कमिटी सचिव रत्न खत्रीका अनुसार मेयरका उम्मेदवार केन्द्रीय सदस्य पशुपति दयाल मिश्र गत मंसिरमा पार्टी प्रवेश गर्नुभन्दा पहिले नेपालगन्जमा एमालेलाई नेतृत्व गर्ने गतिलो नेता छैन भन्ने मनोविज्ञान थियो।

मिश्र एमाले प्रवेश गरेसँगै अब पार्टीमा लिडरसिप पाएको अनुभव सबैले गरेका छन्। त्यसैले पनि निर्वाचनको परिणाम एमालेको पोल्टामा पर्ने उनको विश्वास छ।

खत्रीका अनुसार उपमेयरकी उम्मेदवार केन्द्रीय सदस्य शान्ति ढकालको पनि मतदाताका बीचमा उत्तिकै लोकप्रिय छिन। समावेशीको मुद्दालाई एमालेले आत्मसात् गरेको हुँदा मतदाताले त्यसको पनि सम्मान गर्ने खत्रीले बताए।

‘नेपालगन्जमा एमालेको जनमत आफैंमा पनि बलियो छ,’ खत्रीले भने, ‘मिश्रजीको आगमनसँगै ठूलो संख्यामा मधेसी समुदाय एमालेमा समाहित हुनु भएको छ।’

मधेसी समुदायको समाहितले पनि एउटा बलियो जित्ने आधार खडा भएको उनले चर्चा गरे।

एमालेले नेपालगन्जलाई एउटा धार्मिक, स्वच्छ, सफा र सुन्दर नगर बनाउने संकल्प गरेको हुँदा त्यो संकल्पले नगरका न्युट्रल मतदाताको समर्थन रहेको हुँदा पनि जित्ने आधार बनेको उनले दाबी गरे।

खत्रीकै शब्दमा बाँकेमा राप्रपाको खास कुनै जनाधार नै छैन र सांगठनिक रूपमा राप्रपा निकै कमजोर छ।

‘धवलशमशेर राणाप्रतिको एक प्रकारको आकर्षणले गर्दा मात्रै त्यतिखेर उक्त पार्टीले जितेको हो,’ खत्रीले थपे, ‘त्यो व्यक्तिगत मत थियो र अब त्यो आकर्षण छैन।’

खत्रीले नेपालगन्जका मुख्य प्रतिष्पर्धी दलहरू भनेका कांग्रेस र एमाले नै भएको बताए। त्यसैले राप्रपाको मत पनि यसपटक एमालेलाई आउने उनले दाबी गरे।

खत्रीले नेकपा माओवादीको पनि नेपालगन्जमा संगठन कमजोर रहेको ठोकुवा गरे।

‘स्वर्गीय नेता दामोदर आचार्यप्रतिको भरोसा र आकर्षणले गर्दा पहिले माओवादीले त्यति मत पाएको थियो,’ खत्रीले भने, ‘आज नेपालगन्जमा माओवादीको संगठन कतै बलियो छैन र त्यो मत पनि हामीलाई आउँछ।’

त्यसैगरी खत्रीले गठबन्धनका कारण जसपा भित्र पनि असन्तुष्टि व्यापक छ र त्यसको फाइदा एमालेले उठाउने तर्क गरे। धवलशमशेरका मत, माओवादीका मत र जसपाका मत चोरेरै एमालेले निर्वाचन जित्ने उनको दाबी गरे।

‘मलाई गठबन्धन हाम्रा लागि धेरै तनाव लिनुपर्ने विषय होजस्तो लाग्दैन,’ सचिव खत्रीले भने, ‘घरदैलोमा जाँदा एमालेप्रति देखिएको आकर्षणले गर्दा पनि मलाई गठबन्धन ठूलो समस्या हो भन्ने लागेको छैन।’

मिश्रको आगमनले पार्टीभित्र ‘हाइ टावर लिडर’ पायौं भन्ने मनोविज्ञान बनेको भन्दै खत्रीले त्यही आधारमा एमालेले जित्ने दाबी प्रस्तुत गरे।

राष्ट्रिय प्रजातन्त्रले बाँकेमा मेयर, उपमेयरसहित लगभग नेपालगन्जका २३ वटै वडामा एकल उम्मेदवारी प्रस्तुत गरेको छ।

अहिलेका मेयर तथा उक्त पार्टीका महामन्त्री धवलशमशेर राणाले २०७४ सालको निर्वाचनमा साढे १२ हजार जति मत ल्याएर जितेका थिए।

‘अहिले अधिराज्यभर हाम्रो लहर नै आएको छ,’ राप्रपका बाँके अध्यक्ष नरेन्द्र पौडेलले भने, ‘बाँके त झनै हामीले यसअघि पनि जितेको ठाउँ भइहाल्यो।’

देशभरि नै वैकल्पिक शक्तिको रूपमा राप्रपालाई हेरिएको हुँदा नेपालगन्जवासीले राप्रपालाई विजयी गराउने उनले विश्वास व्यक्त गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नन्दलाल वैश्य मेयर पदमा र बिन्दु चर्ती मगर उपमेयर पदमा उम्मेदवार छन्।

पाँच दलीय गठबन्धनप्रति असन्तुष्टि जनाउँदै वैश्य मनोनयन दर्ता गर्नुभन्दा हप्ता दिनअगाडि मात्रै राप्रपामा प्रवेश गरेका हुन।

‘वैश्यजस्ता सशक्त उम्मेदवारलाई हामीले मेयरका रूपमा प्रस्तुत गरेका छौं,’ पौडेलले भने, ‘उहाँ एउटा सामाजिक व्यक्तित्व, अभियन्ता र व्यापार संघको अध्यक्ष भइसकेका परिचित मान्छे हो।’

भर्खरै पार्टी प्रवेश गरेको भए पनि त्यसले पार्टीमा कुनै असन्तुष्टि नरहेको र कुनै फरक नपर्ने उनले बताए।

‘पार्टीभित्र सबैले सल्लाह गरेर उहाँलाई भित्र्याएका हौं, त्यसैले पार्टीमा कुनै असन्तुष्टि छैन,’ अध्यक्ष पौडेलले भने, ‘हाम्रो संगठन सशक्त छ र हामीले वडामा पनि सशक्त उम्मेदवार उठाएका छौं।’

गत चुनावमा १२ हजार बढी मत ल्याए पनि यसपटक २० हजार बढी मत पाएर राप्रपा विजयी हुने उनले दाबी गरे।

तटस्थ मतदेखि मधेसी, मुस्लिम सबै समुदायको मत राप्रपालाई आउने उनले बताए। ‘एमालेबाट हामीलाई कुनै डर छैन,’ उनले भने, ‘हाम्रो प्रतिस्पर्धी भनेको नेपाली कांग्रेस मात्रै हो।’

२०७४ को निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिको मेयरमा राप्रपाका धवल शमशेर राणा र उपमेयरमा उमा थापा मगर विजयी भएका थिए ।

Nabintech