• १४ बैशाख २०८१, शुक्रबार
नेपालगन्जको मेयरमा कांग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जसपाका राइले गरे उम्मेदवारी दर्ता


नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार प्रशान्त विष्टले उम्मेदवारी दर्ता गरेका छन् ।

विष्टको प्रस्ताबकमा लुम्बिनी प्रदेशका बन तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाल र समर्थकमा केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी छन् ।

पार्टी कार्यालयबाट बाजागाजासहित ठूलो संख्याका कांग्रेस नेता कार्यकर्ताहरु मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । गठबन्धनमा भएको सहमति अनुसार नेपालगन्जको मेयर कांग्रेसको भागमा परेको थियो ।

केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, निवर्तमान सभापति किरण कोइराला, जिल्ला कार्यसमितिका उपसभापति गोपाल अधिकारी, निवर्तमान उपसभापति सुनिल नरसिंह राणा, नेपालगन्जकी उपमेयर उमा थापा मगर, महासमिति सदस्य सुरेश कनोडिया लगायत नेता कार्यकर्ता मनोनयन दर्ता स्थल पुगेका थिए ।
मेयरका उम्मेदवार विष्टले जनताको उत्साहजनक उपस्थितीले उत्साहित भएको र विजयी हासिल गर्ने विश्वास व्यक्त गरे ।

यस्तै उपमहानगरपालिकाको उपमेयरमा जसपाका बाँके अध्यक्ष कमरुद्दिन राइले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै निर्वाचन अधिकृतको कार्यालयका अनुसार यसअघि आइतबार नै राप्रपाबाट प्रमुखमा नन्दलाल वैश्य र उपप्रमुखमा बिन्दु चर्तिकला मगर लगायत २३ वटै वडाका वडा अध्यक्ष र सदस्यले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

प्रमुख र उपप्रमुख नपाएपछि नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनबाट बाहिरिएको घोषणा गरेको थियो भने गठबन्धनमा रहेका दलहरु नेपाली काँग्रेस र जना समाजवादी पार्टीले वडाहरुमा गठबन्धन नगरेर मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेर सबै वडामा उम्मेदवारी दर्ता गराएका छन् ।

Nabintech