नेपालगञ्जमा राप्रपाले बनायो माओवादीबाट आएका वैश्यलाई उम्मेदवार


नेपालगञ्ज  । राप्रपाले नेपालगञ्ज उपमहानगरको मेयरमा नन्दलाल वैश्यलाई उम्मेदवार बनाएको छ।

०७४ मा भएको चुनावमा धवलशम्शेर राणा मेयर जितेका थिए। उनी मेयर नउठ्ने भएपछि चार दिनअघि माओवादीबाट राप्रपा प्रवेश गरेका नन्दलाललाई राप्रपाले मेयरको टिकट दिएको हो।

उपमेयरमा भने विन्दु चर्ती मगरलाई उठाउने राप्रपाले निर्णय गरेको छ।यस्तै राप्रपाका केन्द्रीय उपाध्यक्ष मुकुन्दश्याम गिरी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयर उठ्ने भएका छन्।

गिरीले वीरेन्द्रनगरको मेयरमा उम्मेदवारी दिने भएका छन्। पार्टीका केन्द्रीय नेताहरूलाई पनि स्थानीय तहमा उम्मेदवार बनाइएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका बासिन्दाले बितेका २८ वर्षमा दुई पटक मेयर चुने। २०५४ मा नगरपालिका रहेको  नेपालगन्ज २०७४ मा उपमहानगर भयो तर मतदाता मेयर उही व्यक्ति छाने, धवलशमशेर राणा।

त्यो २० वर्षमा राणा आफूले भने एक पार्टीबाट अर्को पार्टीमा फड्को मारिसकेका थिए। २०५४ मा नेकपा (एमाले) बाट चुनाव लडेका उनी २०७४ मा मेयर उठ्दा राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्री बनिसकेका थिए।

राप्रपाको संगठनको बलियो भएर होइन व्यक्तिगत प्रभावका कारण उनले २०७४ को चुनाव जिते। अरू महानगर र उपमहानगरमा राप्रपाका उम्मेदवार निकै पछाडि हुँदा राणाले प्रतिष्पर्धी उम्मदेवारलाई झन्डै ४ हजार मतले पछि पारे।

राणाले १२ हजार ५ सय १५ मत ल्याए भने उनका निकटतम् प्रतिष्पर्धी नेपाली कांग्रेसका सुरेशकुमार कनौडिया ८ हजार ७३० मत पाए। दुई पटक नेपालगन्जको मेयर भइसकेका राणाले यसपालि फेरि मेयरमा नउठ्ने बताएका हुन्।

Nabintech