• १४ बैशाख २०८१, शुक्रबार
गठबन्धनले ६ महानगर र ९ उपमहानगरको बाँडफाँड टुंग्यायो !

नेपालगन्ज र जनकपुर उपमहानगरपालिमा जसपाले दावी गरेपछि भागबण्डा टुंगिन बाँकी



काठमाडौं । पाँचदलीय सत्तागठबन्धनले ६ महानगर र ९ उपमहानगरका मेयर–उपमेयरको सिट बाँडफाँड टुंग्याएको छ ।

नेताहरूकाअनुृसार ६ महानगरपालिकामा कांग्रेसले तीन तथा माओवादी, एकीकृत समाजवादी र जसपाले एक–एक मेयर पाउने गरी सहमति बनिसकेको छ ।उपमेयरमा पनि कांग्रेसले तीन तथा माओवादी, एकीकृत समाजवादी र जसपाले एक–एक लिने गरी सहमति बनेको एक नेताले बताए । सहमतिअनुसार कांग्रेसले विराटनगर, ललितपुर र काठमाडौंमा मेयर तथा वीरगन्ज, भरतपुर र पोखरामा उपमेयर पाउने छ ।

माओवादीले भरतपुरमा मेयर तथा ललितपुरमा उपमेयर लिने छ । एकीकृत समाजवादीले पोखरामा मेयर र काठमाडौंमा उपमेयर लिने सहमति छ । जसपालाई वीरगन्जमा मेयर र विराटनगरमा उपमेयर परेको छ ।

मंगलबार दिउँसोसम्मको प्रगतिअनुसार ११ उपमहानगरपालिकामा कांग्रेसले ६ तथा माओवादीले दुई र एकीकृत समाजवादी र जसपाले एक–एक मेयर लिने गरी सहमति भएको थियो ।

जसअनुसार कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर र धनगढीमा मेयर पाउने तय भएको थियो । त्यस्तै, माओवादीले जितपुर–सिमरा र घोराही, एकीकृत समाजवादीले हेटौँडा र जसपाले जनकपुर पाउने थियो । तर, रातिको शीर्ष नेताहरूको बैठकमा जसपाले नेपालगन्ज पनि आफूले पाउनुपर्ने अडान राख्यो । जुन यसअघि कांग्रेसले राख्ने लगभग सहमति बनेको थियो ।

जसपाले नेपालगन्ज दाबी गरेपछि कांग्रेसले पनि जनकपुरमा दाबी गर्‍यो । नेताहरूले पौने दुई बजेसम्म सहमति जुटाउने कोसिस गरे । तर, त्यसैमा कुरा अड्किएपछि पुनः बुधबार बस्ने गरी गठबन्धनको बैठक सकिएको छ । ११ वैशाखमा उम्मेदवार मनोनयनको कार्यतालिका छ ।

हेर्नुहोस् कुल दलले कहाँ भाग पाए :

Nabintech