गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ,कुनै हालतमा गठबन्धन तोड्नु हुन्न :प्रधानमन्त्री देउवा


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन्।

नेपाली विद्यार्थी संघको स्थापना दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले अहिलेको निर्वाचन प्रणालीअनुसार कुनै पनि दलले बहुमत ल्याउने अवस्था नभएकाले गठबन्धन गर्नैपर्ने बताए ।

उनले भने, ‘पहिला (२०७४) को जस्तै होला। अहिले एकलौटी रुपमा बहुमत आउने सम्भावना छैन।’अहिले कुनै पनि पार्टीले एकल बहुमत ल्याउन सम्भव नभएकाले गठबन्धन गरिएको देउवाको तर्क छ। ‘पहिला ओलीलाई हटाउन भनियो उनलाई हटाइयो। गठबन्धनमाा गिभ एण्ड टेक हुन्छ। गठबन्धनमा आउनेले पनि पाउने आस गरेको हुन्छ नि। उनीहरुले हामीलाई ठूलो पार्टी हुनुस् भनेको छ र हामी पनि सानो पार्टी बन्छौं भनेका छन्। यसमा के गलत छ र ? ’देउवाले भने।

उनले भने, ‘यो गठबन्धन टुटाउने षडयन्त्र भइरहेको छ । यो गठबन्धन नभए हाम्रो त्यस्तै हालत हुने हो । ओलीलाई हटाउनुपर्‍यो भनेको हो । यो संविधानअनुसार कुनै पनि एक्लै पार्टीको बहुमत आउने सम्भावना छैन । कसै न कसैसँग त गठबन्धन गर्नुपर्छ,’ उनले भने, ‘गठबन्धन भन्दाखेरि ‘गिभ एन्ड टेकु त हुन्छ । कांग्रेस ठूलो पार्टी छ तर सानो पार्टी हामी पनि हुन पाउँ भन्नुभएको छ ।’

दोहोर्‍याएर गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको बताएका देउवाले पार्टी नेताहरुलाई अब विभिन्न तहका सरकारमा जिम्मेवारी लिने विषयमा अर्जुनदृष्टि राखेर काम गर्ने भने। ‘केहीलाई यस (गठबन्धन)लाई तोड्नु छ। म त प्रधानमन्त्री भइसकेँ, अब तपाईंहरु हुने हो। मुख्यमन्त्री हुने हो। अर्जुनदृष्टि राखेर काम गर्नुस्।’

संसद्‌मा पनि आफूहरु हारेको हार्‍यै भएको तथ्य बुझेर संगठन निर्माणमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

प्रधानमन्त्री देउवाले गठबन्धनकै कारण विभिन्न प्रदेशमा आफूहरुले मुख्यमन्त्री पाएको स्मरण गराए। ‘गठबन्धनले अहिले धेरै प्रदेशमा हामीले मुख्यमन्त्री पाएका छौं। कर्णाली र गण्डकीमा मुख्यमन्त्री पाएका छौं। अन्यमा सरकारमा गएका छौं,’भने।

कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मादेखि महाधिवेशनमा सभापतिमा पराजित शेखर कोइराला पक्ष गठबन्धनको विपक्षमा रहेका बेला देउवाले भने, ‘हामी संसदीय चुनावमा हारेको हो । अहिले गठबन्धनले धेरै ठाउँमा हाम्रो सरकार छ ।

धेरै ठाउँमा मुख्यमन्त्री र मन्त्री छन् । धेरै ठाउँमा हामीले भाग पाएका छौं । के बिगारेँ मैले ? मैले कांग्रेसलाई सरकारमा ल्याउनु गल्ती हो भने मैले गल्ती गरेको भन्नुपर्छ । धन्यवाद र बधाई दिनुपर्नेमा !’

Nabintech