नेपालगञ्जको मेयर र उपमेयरमा कांग्रेसबाट कोको भए सिफारिस (सूचिसहित)


नेपालगञ्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको मेयर र उपमेयर पदका लागि नेपाली कांग्रेसले उम्मेदवारको नाम शिफारिस गरेको छ । मेयरका लागि कांग्रेसले १४ जनाको नाम सिफारिस गरेको छ । उपमेयरमा ११ जना सिफारिस भएका छन् ।

नेपालगञ्ज नगर सभापति प्रशान्त विष्टका अनुसार कांग्रेसको केन्द्रीय समितिकाे परिपत्र अनुसार प्रदेश संसदीय समिति नाम सिफारिस गरिएको जानकारी दिए ।

मेयरमा रमेश कुमार गुप्ता, प्रशान्त विष्ट, उमा थापा मगर, सुनिल राणा, निरञ्जनसिंह सिजापति, डा।सुरेश कुमार कनोडिया, माया पुन, अजित कुमार शर्मा, रविन्द्रमान श्रेष्ठ, विरेन्द्र बहादुर शाह, अच्युत प्रसाद प्रसाईं, ललित रौनियार, मो। कादिर जोलाहा र दिवाकर खनालको नाम सिफारिस गरिएको छ ।

यस्तै उपमेयरमा रेणु सिंह ठाकुर, दिक्षा कोइराला, रत्न राणा, शिव कुमार बर्मा, पूर्ण सिंह ठकुरी, मिना कुमारी बोहरा, नारायणी रुपाखेती, मो।कमाल अन्सारी, गोकर्ण शाही, बन्दना सिंह र अतुल कुमार गुप्ता सिफारिस भएका छन् ।

कांग्रेस विधान अनुसार उपमहानगरपालिकाको टिकट वितरणको अधिकार प्रदेश संसदीय समितिलाई छ । तर, चुनावी गठबन्धन गरेका सत्ता साझेदार दलहरुले उपमहानगरपालिकाको मेयर उपमेयर केन्द्रबाटै बाँडफाँड गरेर स्थानीय सिफारिसका आधारमा केन्द्रबाटै उम्मेदवार टुंगो लगाउने सम्भावना छ ।

कांग्रेसको परम्परागत शक्ति रहेको यो नगरमा व्यक्तिगत रूपमा बलियो भएकै कारण २०७४ को निर्वाचनमा राप्रपाका धवलशमशेर जबरा बिजयी भएका थिए । यसपटक भने राणले मेयर नलड्ने घोषणा गरीसकेका छन् । राप्रपाका उम्मेदवार राणा १२ हजार ५ सय १५ मतसहित निर्वाचित भएका थिए ।

कांग्रेसका सुरेशकुमार कनोडियाले ८ हजार ७ सय ३० मतसहित दोस्रो हुँदा, माओवादी केन्द्रका दामोदर आचार्य ७ हजार १ सय ९८ मतसहित तेस्रो, एमालेका समसुद्दीन सिद्दिकी ६ हजार ९ सय ६५ मतसहित चौथो र संघीय समाजवादी फोरमका कमरूद्दीन राई ५ हजार ४ सय ४१ मतसहित पाँचौ भएका थिए ।

कांग्रेस यहाँ मेयरमा पराजित भएपनि उपमेयरसहित कार्यपालिकामा बहुमत जितेकाले अब नेतृत्वसहितको सुनिश्चितता चाहान्छ । उसको यो चाहनामा जसपा बाधक बनेको छ । आंशिक भएपनि आफ्नो प्रभावक्षेत्र रहेकाले भागबण्डामा नेपालगञ्ज आफूले पाउनुपर्ने उसको दाबी छ ।

 

Nabintech