• १६ चैत्र २०८०, शुक्रबार
स्थानिय तहको निर्वाचनका लागि म्यादी प्रहरी बन्न आवेदन दिनेको भीड


काठमाडौं । वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि नेपाल प्रहरीले एक लाख म्यादी प्रहरी भर्नाका लागि आवेदन खुलाएको छ ।

काठमाडौं उपत्यकाका महानगरीय प्रहरी परिसर र उपत्यका बाहिर जिल्ला प्रहरी कार्यालयमा दर्खास्त दिन पहिलो दिन नै भीड छ । १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले ११ चैतसम्म आवेदन दिन सक्ने प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ ।फौजदारी अभियोग नलागेको, कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक र मानसिकरुपले तन्दुरुस्त नेपाली नागरिकले आवेदन दिन सक्ने छन् ।

म्यादी प्रहरी बन्ने लाइनमा स्नातकोत्तर तह अध्ययन गरिसकेका (डिग्री होल्डरसँगै ) यसअघिका निर्वाचनमा म्यादी प्रहरीको अनुभव गरेका साक्षर नागरिकसम्म छन् ।म्यादी प्रहरीमा भर्ना हुन आउनेहरूमा उल्लेख्य संख्यामा महिलाहरु पनि छन् । केही महिलाहरू त छोराछोरी काखमा च्यापेरसमेत दर्खास्त बुझाउन आएका देखिन्थे ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मी, नेपाल बाहिरका सुरक्षा निकायमा काम गरेका र यसअघिका चुनावमा म्यादी प्रहरी बनेकालाई प्राथमिकता दिइने छ । ११ चैतसम्म आवेदन दिनेहरुले आवदेन दिएकै ठाउँमा १३ गते सम्पर्क गर्नु पर्ने छ । १५ गतेदेखि शारीरिक परीक्षण गरेपछि २२ चैतमा अन्तिम नामावली प्रकाशित हुनेछ । उनीहरुलाई २८ चैतदेखि तालिम दिएर चुनावका लागि ४० दिन काम लगाइने छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालको मानव स्रोत तथा प्रशासन विभागका अनुसार म्यादी प्रहरीका लागि प्रहरी जवानको तलब (आधारभूत तलब महिनाको २२,६८० रुपैयाँ) खाद्यान्न, पोशाक र अन्य सामग्री खरीदका लागि भनेर ४० दिनको ४४,४४० रुपैयाँ पाउने छन् । उनीहरुको बीमालगायतका अन्य सुविधा पनि हुने छ ।

Nabintech