• १३ बैशाख २०८१, बिहीबार
कांग्रेस वडा कार्यसम्पादन समिति नों दिनभित्र गठन गर्न केन्द्रको निर्देशन


काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका तल्ला तहलाई आउँदो चैत ११ गतेभित्र कार्यसम्पादन समिति बनाउन निर्देशन दिइएको छ ।

गएको फागुन २३ गते स्थानीय तहमा टोलदेखि नै कार्यसमिति गठन गर्दै विधान कार्यान्वयन गर्न परिपत्र गरिएको हो ।

जिल्ला कार्यमितिमार्फत देशभर रहेका ६ हजार ७४३ वडा सभापतिहरूलाई परिपत्र गर्दै कार्यसम्पादन समिति गठन गर्न निर्देशन दिइएको हो । परिपत्रको बुँदा नम्बर ५ अनुसार स्थानीय तह संगठनहरूमा वडा तहमा कार्यसम्पादन समिति गठन गर्न निर्देशन दिइएको छ ।

पार्टीको विधान २०१७ (संशोधनसहित)को परिच्छेद तीनमा स्थानीय तह संगठनसम्बन्धी व्यवस्था छ । धारा ६ मा गाउँपालिका वडा कार्यसम्पादन समिति गठन गर्नुपर्नेसम्बन्धी व्यवस्था छ । गाउँपालिका वडा कार्यसमितिको सभापति, उपसभापति, सचिव, कोषाध्यक्ष र सहसचिव पदेन सदस्य रहने विधानमा व्यवस्था छ ।

यस्तै, कार्यसमितिका सदस्यमध्येबाट समावेशी सिद्धान्त समेतलाई ध्यानमा राखी सभापतिले बढीमा नौ जनालाई वडा कार्यसम्पादन समिति सदस्य बनाउन पाउने अधिकार विधानमा छ । यस्तै, विधानले मातहतका टोल कार्यसमितिका सभापतिलाई कार्यसम्पादन समितिको बैठकमा आमन्त्रण गर्ने अधिकार वडा सभापतिलाई दिएको छ ।

परिपत्रको बुँदा नम्बर–५ मै नगर/उपमहानगर तथा महानगरपालिका वडा कार्यसम्पादन समिति गठन गर्न निर्देशन दिइएको छ । पार्टी विधानको परिच्छेद तीन को धारा ७ को उपधारा ६ मा कार्यसम्पादन गठनसम्बन्धी व्यवस्था छ ।

नगरपालिका वडा कार्यसम्पादन समितिमा सभापति, उपसभापति, सचिव, कोषाध्यक्ष र सहसचिव पदेन सदस्य तथा सभापतिले कार्यसमितिका सदस्यमध्येबाट नौजनालाई नगरपालिका वडा कार्यसम्पादन समितिको सदस्य बनाउन पाउने व्यवस्था छ ।

यस्तै, मातहतका टोल कार्यसमितिका सभापतिलाई नगरपालिका वडा कार्यसम्पादन समितिको बैठकमा आमन्त्रण गर्न सकिने व्यवस्था छ । वडा सभापतिले उपमहानगरपालिकाको हकमा बढीमा १२ र महानगरपालिकाको हकमा बढीमा १५ सदस्यलाई कार्यसम्पादन समितिमा सदस्य बनाउन पाउने अधिकार छ ।

पार्टी वडा कार्यालय दैनिक सञ्चालन गर्नुपर्ने 
परिपत्रानुसार वडा कार्यसमितिलाई वर्षमा कम्तीमा १२ पटक बैठक बस्न निर्देशन दिइएको छ । देशभरका ६ हजार ७४३ वडा समितिले महिनाको एकपटक अनिवार्य बैठक बस्नुपर्नेछ । विधानमै प्रत्येक महिना अनिवार्य बैठक बस्नुपर्ने व्यवस्था छ ।

“विधानको व्यवस्थाअनुरूप नियमित रूपमा कार्यसमिति र कार्यसम्पादन समितिको बैठक बस्ने र बैठक बस्दा एजेन्डासहित विधिवत् ढंगले सञ्चालन गर्ने,” परिपत्रमा लेखिएको छ ।

यसैगरी, ७७ जिल्लाका सबै वडा कार्यालयहरूलाई कार्यालय व्यवस्थापन गर्न पनि भनिएको छ । वडा कार्यसमितिको कार्यालय खोली सम्भव भएसम्म दैनिक रूपमा सञ्चालन गर्न निर्देशन दिइएको छ । वडा समितिहरूले प्रत्येक महिनाको पहिलो हप्ता अघिल्लो महिनाको गतिविधिहरूको विवरण पालिका कार्यसमितिलाई पठाउनुपर्ने निर्देशन छ ।

परिपत्रानुसार वडा कार्यसमितिले जातीय भेदभाव र छुवाछूत, लैंगिक विभेद, महिलाउपरको हिंसालगायत कुप्रथा अन्त्य गर्नका लागि अभियान पनि सञ्चालन गर्नुपर्नेछ ।

Nabintech