• १३ बैशाख २०८१, बिहीबार
कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजीनामा,कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन्।
​सत्ता साझेदार नेपाली कांग्रेससँग भएको आलोपालो सरकार चलाउने सहमतिअनुसार मुख्यमन्त्री शाहीले राजीनामा दिएका हुन् ।सोमबार कर्णालीवासीको नाममा सम्बोधन गर्दै शाहीले मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरे । काँग्रेस माओवादीबीच पहिलो ६ महिना शाही र बाँकी समय काँग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने समझदारी थियो।

गठबन्धन फेरबदलका क्रममा भएको सहमति अनुसार आफूले इमानको राजनीति प्रस्तुत गर्दै नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न लागेको शाहीले सम्बोधनका क्रममा बताए । उनले नयाँ सरकारलाई आफ्नो र पार्टीको पूर्ण समर्थन रहेको पनि जिकिर गरे । सरकारले गरेका कामको लामो फेहरिस्त प्रस्तुत गरेका शाहीले जाँदा जाँदै आफूलाई साथ दिने राजनीतिक दल र कर्मचारीलाई धन्यवाद ज्ञापन गरे ।

तत्कालीन नेकपा विभाजित भएपछि शाही सरकार अल्पमतमा परेपछि कांग्रेसको समर्थन र तत्कालीन एमाले ४ सांसदको फ्लोर क्रसको बलमा सरकार जोगिएको थियो । त्यतिबेला अर्थात वैशाख ३ गते ६ महिनापछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने गरी मुख्यमन्त्री शाही र कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीबीच लिखित सहमति भएको थियो ।

शाही ३ वर्ष ८ महिनापछि प्रदेशको सत्ताबाट बाहिरिएसँगै काँग्रेस संसदीय दलका नेता जीवन बहादुर शाही मुख्यमन्त्री बन्ने बाटो खुला भएको छ ।

Nabintech