• १३ बैशाख २०८१, बिहीबार
एमाले नेतृत्वका ५ प्रदेश सरकार गुमे,केन्द्रदेखि प्रदेशसम्मै प्रतिपक्षिको कुर्सीमा


काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको राजीनामासँगै अब एमाले संघीय र प्रदेश सबैतिर प्रतिपक्षीको कुर्सीमा पुगेको छ ।

२०७४ मा भएको संघ र प्रदेशसभा निर्वाचनमा सबैभन्दा ठुलो दल समेत बनेको एमालेले केन्द्रसँगै सातमध्ये चार वटा प्रदेश सरकारको नेतृत्व गुमाउन पुगेको छ ।
यसअघि गण्डकी, लुम्बिनी र बागमती प्रदेश सरकारको नेतृत्व गुमाइसकेको एमालेले सोमबारबाट भने प्रदेश १ सरकारको नेतृत्व पनि गुमाउन पुगेपछि शून्यमा झरेको हो । यी चारवटै प्रदेशमा एमाले एक्लै बहुमतको सरकार बनेका थिए ।

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले सोमबार विश्वासको मतमा छलफल हुनुअघि नै प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिएका हुन् । गत भदौ १० मा मुख्यमन्त्री बनेका आचार्यको सरकारले ६८ दिनमै सोमबार ढलेको छ । बहुमत नपुग्‍ने अवस्था सिर्जना भएपछि मुख्यमन्त्री आचार्यले विश्वास प्रस्तावमा मतदान प्रक्रिया सुरु हुनुअघि राजीनामा दिएका छन् ।

पार्टीभित्रको विवादकै कारण सबभन्दा पहिला एमालेले गण्डकी प्रदेश सरकारको नेतृत्व गुमाउन पुग्यो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार ७८ जेठ २७ मा ढलेको थियो । त्यसपछि यो प्रदेशमा काँग्रेस नेतृत्वमा ५ दलीय गठबन्धनको सरकार बनेको छ ।

एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार ढलेको ठीक दुई महिनापछि अर्थात् ०७८ साउन २८ मा एमाले नेतृत्वमै रहेको लुम्बिनी प्रदेश सरकार ढल्न पुगेको थियो । यो प्रदेशमा एमाले स्थायी समिति सदस्य समेत रहेका शंकर पोखरेलले सरकारको नेतृत्व गरेका थिए । पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढलेपछि यो प्रदेशमा पनि ५ दलीय गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता कुलबहादुर केसी बनेका मुख्य मन्त्री बनेका छन् ।

गण्डकी र लुम्बिनीपछि एमाले नेतृत्वको बागमती प्रदेश सरकार ढल्न पुगेको थियो । यो प्रदेशमा एमालेले डोरमणि पौडेलको राजीनामा गराएर एमाले उपाध्यक्ष समेत रहेकी अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाए पनि शाक्य नेतृत्वको सरकार समेत धेरै टिक्न सकेन । पौडेलको राजीनामा पछि २०७८ भदौ २ गते मुख्यमन्त्री बनेकी शाक्य ७१ दिनमा कात्तिक १० गते राजीनामा दिएर बाहिरिन पुगेकी थिइन् ।

शाक्यको राजीनामा पछि यो प्रदेशमा ५ दलीय गठबन्धनका तर्फबाट एमालेबाटै अलग भएर बनेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेका छन् ।

शाक्य नेतृत्वको सरकार ढलेको ५ दिनमा प्रदेश एकमा शेरधन राईलाई राजीनामा गर्न लगाएर मुख्यमन्त्री बनेका भीम आचार्यको सरकार पनि सरकारबाट बहिर्गमन भएको हो । यो प्रदेशमा पनि गठबन्धनकै तर्फबाट एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने तयारी छ ।

 

Nabintech