• १४ बैशाख २०८१, शुक्रबार
न्यायपालिका जोगाउन राजीनामा गर्न प्रधानन्यायाधीश जबरालाई बारको आग्रह


काठमाडौं । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा राजीनामा दिनुपर्ने बताएको छ ।

सोमबार बसेको बारको बैठकले न्यायपालिकाको गरिमा बचाउनका लागि प्रधानन्यायाधीशले ‘निकास’ दिनुपर्ने निष्कर्ष निकालेको हो । बारको पदाधिकारी बैठकले प्रधानन्यायाधीशले राजीनामा दिएमात्रै न्यायालयको गतिरोध अन्त्य हुने सुझाव दिएका थिए । तर यस सम्बन्धमा बारले सल्लाहकार समितिको बैठक राखेर मात्रै औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ ।

बारले मंगलबारका लागि सल्लाहकार समितिको बैठक आव्हान गरेको छ । बारको सल्लाहकार समितिमा पूर्वअध्यक्षहरू, उपत्यका बारका पदाधिकारी र नेपाल बारका पूर्वपदाधिकारीको सहभागिता हुनेछ ।

यसअघि नेपाल बारले आइतबार मात्रै प्रधानन्यायाधीशलाई भेटी सोमबारका लागि फूलकोर्टको बैठक राख्न माग गरेको थियो । बारको माग बमोजिम प्रधानन्यायाधीश जबराले सोमबार अपरान्ह १ः३० बजेका लागि फूलकोर्टको बैठक डाकेका थिए ।

तर सोमबारको फूलकोर्ट बैठक न्यायाधीशहरूले बहिष्कार गरेपछि सोमबार फेरि बारको पदाधिकारी बैठक बसेको थियो । उक्त बैठकले प्रधानन्यायाधीशले राजीनामा दिएर सहजीकरण गरिदिनुपर्ने निष्कर्ष निकालेको हो ।

यता सर्वोच्च बारले पनि जबराले संविधानले दिएको जिम्मेवारी, भूमिका निर्वाह गर्न असफल तथा अक्षम रहेको निष्कर्ष निकालेको छ ।

प्रधानन्यायाधीश जबराले न्यायालयमा सिर्जित विकृति, विसंगतिका सम्बन्धमा अध्ययन गरी तयार भएका प्रतिवेदन समेत कार्यान्वयन नगरी सुधारका कार्यमा बाधा अड्चन गरेको समेत सर्वोच्च बारले जनाएको छ । सर्वोच्च बार एशोसिएसनका पूर्वअध्यक्ष तथा पूर्वसचिव रहेको सल्लाहकार समितिले दिएका सुझाव र सल्लाह बमोजिम भन्दै बारको कार्यसमिति बैठकले जबरालाई राजीनामा दिन सुझाएको हो ।

 

Nabintech