आमरण अनसनरत रुबी खान र सरकारबीच सहमति,माइतीघर मण्डलमा तोडिन् अनसन


काठमाडौं । बाह्र दिनदेखि अनसनमा रहेकी रूबी खानले अनसन तोडेकी छन्।

माइतीघर मण्डलामा मानअवधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी र गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जुस खुवाएर अनसन तोडाएका हुन् ।

मंगलबार बाँके घटनाबारे गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन भएपछि खानले माइतीघर मण्डलमा अनसन तोडेकी हुन्।

बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता घटनाबारे उक्त समितिले छानबिन गरी सत्यतथ्य पत्ता लगाउने जनाइएको छ।

धोबीको मृत्यु र कुर्मी बेपत्ताबारे महिला अधिकारकर्मीहरूले न्याय माग गरिरहेका छन्। बाँकेका नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि ११ महिलासहित १४ जना २० दिन हिँडेर काठमाडौं आएका थिए ।

काठमाडौं आए लगत्तै प्रहरीले धरपकड गरेपछि रुबीले आमरण अनसन थालेकी थिइन् ।

 

Nabintech