साफ च्याम्पियनसिप २०२१ को फाइनलमा नेपाल पराजित, भारत आठौं पल्ट च्याम्पियन


काठमाडौं । भारी वर्षा, पहिलो पल्ट फाइनल खेल्नुको तनाव, अनि ‘डगआउट’ मा मुख्य प्रशिक्षकको अनुपस्थिति जस्ता सबै खाले चर्को दबाबबीच नेपाल साफ च्याम्पियनसिप २०२१ को फाइनलमा भारतको हातबाट शनिबार ३–० ले पराजित भएको छ ।

नेपालको ‘टेक्निकल एरिया’ मा प्रतिबन्धका कारण प्रमुख प्रशिक्षक अब्दुल्ला अल्मुताइरी थिएनन् । नेपालका लागि उनको अन्तिम खेलमा खेलाडीले जित उपहार पनि दिन सकेनन् । पहिलो हाफको गोलरहित बराबरीपछि भारतले एक मिनेटको अन्तरमा दुई गोल गरेको थियो । यससँगै प्रतियोगिताको इतिहासमै पहिलो पल्ट फाइनल पुगेको नेपाल उप विजेतामै सीमित रह्यो भने भारतले प्रतियोगितामा आफ्नो एकछत्र प्रभुत्व कायम राख्यो ।

भारतले साफ च्याम्पियनसिपको उपाधि जितेको यो कीर्तिमान आठौं पल्ट हो । अहिलेसम्मका १३ संस्करणमध्ये भारतले एक अवसरमा छाडेर सबैमा फाइनल खेलेको छ । दक्षिण एसियाली फुटबलको महाशक्ति रहेको भारत नेपालविरुद्धको खेलमा पनि पूर्णतस् हाबी रह्यो र उपाधिका लागि टिम उत्तिकै योग्य पनि सावित भयो ।

राउन्ड रोबिनको आधारमा चलेको प्रतियोगिताको लिग चरणका सुरुआती दुई बराबरी खेलेर कमजोर सुरुआत लिएको भारतले त्यसपछि भने लगातार खेल जितेको थियो । फाइनलमा प्राप्त जित उसको लगातार तेस्रो थियो र यी तीनै खेलमा उसका लागि निश्चित जित आवश्यक थियो । यस्तोमा भारतले प्रतियोगितामा उत्कृष्ट पुनरागमन गर्दै उपाधि चुमेको छ ।

वर्षाबीच चलेको खेलको पहिलो गोल सुनील क्षेत्रीले ४९ औं मिनेटमा गरे । नजिकको दूरीमा प्राप्त क्रसलाई उनले सजिलै हेडबाट पहिलो गोल गरे । यो भारतका लागि उनको ८० औं गोल रह्यो । पहिलो गोल खाएर सम्हालिन पनि नपाएको नेपालविरुद्ध सुरेश सिंहले ५० औं मिनेटमा दोस्रो गोल थपे र उनले यसका लागि पेनाल्टी एरियाबाट शक्तिशाली प्रहार गरेका थिए । यस्तै खेलको ९० औं मिनेटमा सब्स्टिच्युट साह अल्दुलले तेस्रो गोल गरे ।

Nabintech