• १३ बैशाख २०८१, बिहीबार
माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्री टुंग्यायो,बाँकेका सासंद महेश्वर गहतराज पनि मन्त्री बन्दै


काठमाडौं । नेकपा माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्री टुंगो लगाएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, महेश्वर गहतराज, शशि श्रेष्ठलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ ।

माओवादीले बुधबार टुंगो लगाएका व्यक्तिहरु पहिलोपटक मन्त्री बन्न लागेका हुन् । पौडेल स्थायी समितिका सदस्य हुन् । उनी बागलुङ २ बाट निर्वाचित भएका सांसद हुन् । यसअघि २०६८ सालमा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पौडेल  प्रमुख राजनीतिक सल्लाहकार थिए ।

यस्तै शशी श्रेष्ठ प्रतिनिधिसभा राज्य व्यवस्था समितिकी सभापति हुन् । उनी समानुपातिकबाट निर्वाचित सांसद हुन् । पार्टी केन्द्रीय सदस्य हुन् श्रेष्ठ ।

धनुषाकी बोधमाया पनि केन्द्रीय सदस्य हुन् । उनी समानुपातिकबाट सांसद छिन् । उनी माओवादीले सशस्त्र विद्रोह सुरु गर्नु अघि नै हत्या गरिएका रामवृक्ष यादवका छोरी हुन् ।

माओवादीले मन्त्री बनाउन लागेका महेश्वर गहतराज पनि सशस्त्र विद्रोहबाट आएका नेता हुन् । १ फागुन २०५२ मा सशस्त्र विद्रोह थालेको दिन माओवादीले चार स्थानमा चौकी आक्रमण गरेको थियो, जसमध्ये रुकुमको राडीज्युला प्रहरी चौकीमा गरेको आक्रमणको नेतृत्व गहतराजले गरेका थिए ।

२०७० को संविधानसभा निर्वाचनमा बाँके १ बाट पराजित उनी २०७४ मा त्यही क्षेत्रबाट विजयी भएका थिए । सांसद भएको पहिलो पटक नै उनले मन्त्री बन्ने अवसर पाएका छन् ।

 

Nabintech