• ११ बैशाख २०८१, मंगलवार
३८ किलो सुन तस्करी प्रकरण:मुख्य आरोपी गोरेसहित ६ जनालाई जन्म कैद,आरोपी सबै प्रहरीलाई सफाइ


काठमाडौं । ३८ किलो सुन तस्करी र भरिया सनम शाक्यको हत्या प्रकरणमा मोरङ जिल्ला अदालतले मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे] सहित ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले उक्त प्रकरणमा संलग्‍न ६ जनालाई जन्मकैद, १ जनलाई तीन वर्ष र १ जनलाई ६ महिनाको कैद सजाय सुनाएको हो ।

मुद्दाको मंगलबार अन्तिम सुनुवाइ गर्दै कर्तव्य ज्यानतर्फ ६ जनालाई जन्म कैद, एकलाई तीनवर्ष र एकलाई ६ महिनाको सजाय तोक्दै बाँकी सबै प्रतिवादीलाई सफाइ दिएको छ ।

अदालतले गोरेसहित, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्म कैदको सजाय तोकेको श्रेष्तेदार टिकेन्द्रवीरजङ राणाले बताए । उनका अनुसार शाक्य हत्यामा संलग्न ठहरिएका राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद तोकिएको छ ।

तर,सोही घटनामा आरोपी बनाइएका प्रहरीका बहालवाला तथा अवकाशप्राप्त सबै प्रहरी कर्मचारीहरूलाई सफाइ दिएको छ ।

गृह मन्त्रालयका तत्कालीन सह-सचिव ईश्वरराज पौडेल नेतृत्वको छानबिन समितिको सिफारिसको आधारमा समेत प्रहरी र कतिपय भरियालाई पक्राउ गरी अनुसन्धानको दायारलाई ल्याइएको थियो ।

सुन तस्करीमा सघाएको र अपराधि भगाउन सहयोग गरेको भन्दै प्रहरीका पूर्व डीआईजी गोविन्दप्रसाद निरौला, तत्कालीन एसएसपी श्यामबहादुर खत्री, हालका डीआईजी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपीद्वय सञ्जयबहादुर राउत र प्रजित केसी, सई बालकृष्ण सञ्जेल र जवान सञ्जीव शाक्यलाई प्रतिवादी बनाइएको थियो । उनीहरुमध्ये खत्री र राउतबाहेक अरु उच्च अदालत विराटनगरको आदेशमा त्यसैबेला छुटेका थिए । तर,मंगलबारको फैसलासँगै सबै प्रहरी अधिकृतले सबैले सफाइ पाएका हुन् ।

यसैबीच मुख्य आरोपी उप्रेतीकी श्रीमति निरू भनिने नर्बदा खरेलले पनि सफाइ पाएकी छन् ।

Nabintech