एमालेको दशौं महाधिवेशन बुटवलमा,७० बर्षको उमेर हदकै कारण पार्टीको जिम्मेवारीबाट हट्न नपर्ने


काठमाडौं । आगामी मंसिरमा पार्टीको दशौं महाधिवेशन गर्ने घोषणा गर्दै एमालेको पहिलो विधान महाधिवेशन सम्पन भएको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबार सुरु भएको महाधिवेशनमा आइतबार राजनीतिक, सांगठनिक र विधान संशोधन प्रतिवेदन पारित गर्दै समापन भएको हो । त्यसक्रममा अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा तीनै तहमा जित्नेगरी पार्टी काममा लाग्न निर्देशन दिए ।

यस्तै केन्द्रीय पदाधिकारीमा अध्यक्ष, बरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, महासचिव, एकजना उपमहासचिव र सातजना सचिव रहने व्यवस्था गरिएको छ ।

यस्तै विधानतः पार्टीमा ७० बर्षको उमेर हदका सम्बन्धमा पार्टीको कार्यकारी पदमा ७० बर्ष पूरा नभएसम्म उम्मेदवार हुन पाउने र कार्यकाल पूरा नहुँदै उमेर हद पूरा भएका कारण जिम्मेवारीबाट हट्न नपर्ने कुरा राखिएको छ । एउटै व्यक्ति कुनै एउटा पदमा दुई कार्यकालभन्दा बढी पटक उम्मेदबार हुन नपाइने विधानमा स्पष्ट व्यवस्था गरिएको छ ।

विधान महाधिवेशनमा पार्टीको निर्वाचन आयोग पनि गठन गरिएको छ । महाधिवेशनमा देशभरबाट ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी थिए ।

Nabintech