संविधान दिवस:विभूषण पाउनेहरुमा चोलेन्द्र शमसेर जबरादेखि प्रचण्ड पत्नी सितासम्म (नामावलीसहित)


काठमाडौं । सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी र विभूषण ९ सय ३ जनालाई प्रदान गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिसमा ९ सय ३ जनालाई मानपदवी, अलंकार र विभूषणबाट सम्मान गरेकी हुन् ।

सबैभन्दा ठूलो विभूषण नेपाल रत्न पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईलाई दिने निर्णय सरकारले गरेको छ ।

दोस्रो ठूलो राष्ट्र गौरव विभूषण मन्त्रिपरिषदका पूर्वअध्यक्ष सुवर्णशमसेर र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई दिने निर्णय सरकारले गरेको छ ।

तेस्रो ठूलो महाउज्जवल राष्ट्रद्वीप प्रथम श्रेणीको विभूषण भने प्रधानन्याधीश चोलेन्द्र शमसेर जबरा, मोहनचन्द्र अधिकारी, तुलसीलाल अमात्य, मंगलादेवी सिंह, दुर्गानन्द झा र नारायण गोपाललाई दिने निर्णय भएको छ ।

यसैगरी, माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी तथा राजनीतिक अभियन्ता सीता दाहाललाई प्रसिद्ध प्रबल जनसेवाश्री प्रदान गरिने भएको छ ।

सुप्रसिद्ध प्रबल जनसेवा श्री विभूषण प्रदीप नेपाल, पोष्टबहादुर बोगटी, मार्शल जुलुम शाक्य र पीएल सिंहलाई तथा उज्जवल कीर्तिमय राष्ट्रद्वीप न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलाई दिने निर्णय सरकारले गरेको छ ।यस्तै, लोक गायिका विष्णु माझीलाई प्रबल जनसेवाश्री पदवीबाट सम्मान गरिने भएको छ ।

मुख्यसचिव शंकरदास बैरागी, प्रधानसेनापति प्रभुराम शर्मा, पूर्व प्रदेश प्रमुख तिलक परियार, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले पनि यही पदक पाएका छन् ।

प्रतिनिधिसभा विघटनको मुद्दामा तत्कालीन विपक्षी दलका नेता शेरबहादुर देउवाको तर्फबाट बहस गर्ने कानून व्यवसायीहरु सुकीर्तिमय राष्ट्रद्वीपबाट विभूषित भएका छन् ।

वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, महादेवप्रसाद यादव, हरिहर दाहाल, मुक्ति प्रधान, मिथिलेश सिंह, रमण श्रेष्ठ, दिनेश त्रिपाठी, गोविन्द बन्दी र पदम रोक्का यो पदक पाउनेहरुको सूचीमा छन् ।

कानूनका विद्यार्थीहरु सुलभ खरेल र समृत खरेलले पनि जनसेवाश्री पाएर यो सूचीमा थपिएका छन् । यी दुवैजनाले यो मुद्दामा प्रभावकारी बहस गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित विशेष समारोहमा विभूषण प्रदान गर्ने कार्यक्रम छ ।

हेर्नुहोस् संविधान दिवसको दिन  विभूषित हुनेहरुको नामावली:

 

Nabintech