कक्षा १२ को परीक्षा आजदेखि, कोरोना संक्रमित विद्यार्थीले पनि दिने पाउने


काठमाडौं । आजदेखि कक्षा १२ को परीक्षा शुरु हुँदैछ ।

राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने परीक्षा आगामी असोज ८ गतेसम्म हुनेछ । परीक्षा बिहान ११ बजे शुरु हुँदैछ ।

यसअघि बोर्डले दुई पटक जेठ २६ देखि असार ४ गतेसम्म र साउन ३१ देखि भदौ ९ गतेसम्म हुने भनिएको परीक्षा कोरोना संक्रमण जोखिमका कारण स्थगित गरेको थियो ।

यो वर्ष पौने चार लाख विद्यार्थीले परीक्षा फाराम भरेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ । बोर्डले होम सेन्टर तोकेर देशभरका चार हजार तीन सय १५ परीक्षा केन्द्रमा परीक्षा सञ्चालनको तयारी रहेको परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले जानकारी दिए ।

माध्यामिक तहको अन्तिममा लिइने कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले यो पटक सय पूर्णाङ्ककै लिने भएको छ । गत वर्षको मूल्यांकन पद्धति प्रभावकारी नदेखिएकाले यो वर्ष सय पूर्णाङ्ककै गराउने तयारी गरेको बोर्डले जनाएको छ ।

बोर्डले गतवर्ष समय र अंकभार घटाएर ४० प्रतिशत मूल्यांकनका लागि मात्रै परीक्षा लिएको थियो । बाँकी ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनको आधारमा परीक्षा भएको थियो ।

बोर्डले कोभिड-१९ संक्रमित विद्यार्थीलाई पछि परीक्षा दिने व्यवस्था गरेको छ । नियमित परीक्षा सकिएपछि संक्रमित विद्यार्थीको लागि अर्को सूचना जारी गरिने परीक्षा नियन्त्रक शर्माले जानकारी दिए ।

कोभिड संक्रमणकै अवस्थामा परीक्षा दिन चाहने विद्यार्थीका लागि आइसोलेसन कक्षको व्यवस्था गर्न केन्द्रलाई निर्देशन दिएको तर परीक्षा दिन नसक्ने विद्यार्थीलाई प्रमाणको आधारमा पछि परीक्षा दिने व्यवस्था मिलाइएको नियन्त्रक शर्माले बताए ।

 

Nabintech