• १३ बैशाख २०८१, बिहीबार
शंकर पोखरेल नेतृत्वको सरकार ढाल्न तेस्रो पटक अविश्वासको प्रस्ताव दर्ता,सत्तापक्ष र विपक्षी दुवै अल्पमतमा !

पोखरेलविरूद्ध ३४ जनाको हस्ताक्षर



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी गठबन्धनले तेस्रो पटक अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

मंगलबार चार महिनामा ३४ जना सांसदको हस्ताक्षरसहित गठबन्धन दलहरुले प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गर्दै प्रदेश प्रमुख अमिक शेरचनलाई विशेष अधिवेशनको माग गरेका छन् ।
मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको ४ महिनामा यो तेस्रोपटक हो । अब कानुनअनुसार १५ दिनभित्र संसद अधिवेशन बोलाउनुपर्ने छ ।

विपक्षी गठबन्धनका कांग्रेस,माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह र जनमोर्चासहित अन्य विपक्षी गठबन्धनका ३४ सांसदले प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

सोमबार नै बहुमतीय सरकार गठनको लागि ४१ जनाको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनलाई पत्र बुझाइएको थियो । तर सोमबार नै उक्त पत्रमा हस्ताक्षर रहेकी सांसद विमला वलीले आफू एमालेमा रहेको बताएकी थिइन् ।

अविश्वासको प्रस्ताव दर्ता भएपछि कानुनअनुसार १५ दिनभित्र संसद अधिवेशन बोलाउनुपर्ने हुन्छ । मंगलबार यो दर्ता भएपछि भदौ १ गतेसम्म १५ दिन पुग्छ । सो अवधिसम्म अदालतबाट ५ संसद पुनःबहाली नभए सरकारको बहुमत पुग्ने देखिदैन ।

अहिले प्रदेश सभामा कायम रहेका ८० सांसदमध्ये एमालेका ३९, कांग्रेसका १९, माओवादीका १८, जसपा यादव समूह ३, कारबाहीमा परी निलम्बित भएका महन्त समूहका ३, जनमोर्चाका १ रहेका छन् ।

Nabintech