दोस्रोपटक मन्त्रिपरिषद बैठक बस्दै, संसद बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने


काठमाडौं । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि मन्त्रिपरिषदको दोस्रो वैठक आज बस्दैछ ।

प्रधानमन्त्री सचिवालयले दिएको जानकारी अनुसार आज दिउँसो २ बजे बैठक मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्न लागेको हो ।

आजको बैठकले पुनःस्थापित प्रतिनिधिसभा वैठक आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गर्ने सम्भावना छ । सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनःस्थापना गरी ७ दिनभित्र संसद बैठक बोलाउन आदेश जारी गरेको थियो ।

मंगलबार प्रधानमन्त्री देउवासँगै चारजना मन्त्री मात्र नियुक्त भएका थिए । सोही दिन बसेको पहिलो बैठकले चैतसम्म सबै नेपालीलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद विस्तार गर्नेबारे प्रधानमन्त्रीले गठबन्धनका दलहरुसँग छलफल गरिरहेका छन् । बुधबार पनि आफूलाई प्रधानमन्त्री बनाउन सघाउने नेकपा एमालेका नेता माधवकुमार नेपालसँग भेटेर देउवाले मन्त्रीमण्डलमा आउन आह्वान गरेका थिए ।

Nabintech