• १३ बैशाख २०८१, बिहीबार
सभापति देउवालाई हराउन संस्थापन इत्तर समूहबाट एकजना मात्रै उम्मेद्वार बनाउने सहमति


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हराउन संस्थापन इत्तर समूहबाट एकजना मात्रै उम्मेद्वार बनाउने सहमति भएको छ ।
इतर समूहबाट एकजना मात्रै उम्मेद्वार हुनुपर्नेमा सबैको एकमत भए पनि नेताहरुले आफूलाई नै सभापतिको उम्मेद्वार बनाउनुपर्ने दाबी प्रस्तुत गरेका छन्।

शुुक्रबार बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा नेता अर्जुननरसिंह केसीको संयोजनमा इतर समूहका सभापतिका आकांक्षीहरुबीच छलफल भएको हो।

छलफलमा सबैले सभापति देउवालाई हराउन सक्ने उम्मेद्वारका रुपमा आफूलाई नै प्रस्तुत गरेकाले एकले अर्कालाई छाड्ने स्थिति नदेखिएको कांग्रेस नेता केसीको भनाइ छ । तर पनि नेताहरुले साझा उम्मेद्वार बनाउने विषयमा छलफल सकारात्मक भएको दाबी गरेका छन्।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई एकपटक पार्टीको नेतृत्व गर्ने अवसर दिन आग्रह गरे। उनले सभापति भएर पार्टीलाई बलियो र एकताबद्ध बनाउने आफ्नो अन्तिम इन्छा भएकाले त्यसलाई पुरा गर्न दिन अरु नेताहरुलाई अनुरोध गरे।

त्यस्तै महामन्त्री शशांक कोइराला र प्रकाशमान सिंहले सभापति देउवालाई हराउन सक्ने एक मात्रै उम्मेद्वार आफू भएको जिकिर गरे। कोइरालाले पार्टीमा आफ्नो पकड रहेको दाबी गरे।

सिंहले भने पार्टीमा आफू निरन्तर सक्रिय भएकाले आफ्नो दाबेदारी स्वभाविक हुने र महाधिवेशनपछि सबैलाई लिएर लैजाने तर्क गरे। छलफलमा नेता कृष्णप्रसाद सिटौलाले भने अझै पनि महाधिवेशनको सुनिश्चिता भइ नसकेकाले त्यसतर्फ ध्यान दिन जोड दिएका छन्।

उनले उम्मेद्वारीबारे छलफल गर्दै महाधिवेशनको सुनिश्चिता गर्नु अहिलेको प्राथामिकता भएको धारणा राखे। त्यस्तै सभापतिका आकांक्षी शेखर कोइरालाले आफूले १३औँ महाधिवेशनदेखि नै तयारी गरेकाले यसपटक अवसर पाउनुपर्ने बताए।

आफूसँग धेरै नेता कार्यकताको सम्पर्क रहेको र माहोल पनि आफ्नो पक्षमा रहेको उनको भनाइ थियो। त्यस्तै सुजाता कोइरालाले पनि महिलालाई कांग्रेसको नेतृत्व गर्ने अवसर दिनुपर्ने धारणा राखेकी थिइन्।

बैठकमा डा. रामशणर महत र बलबहादुर केसी पनि सहभागी थिए।

अघिल्लोपटक पौडेललाई सहयोग गरेका कोइराला परिवार र नेता सिंह नै यसपटक आफैँ सभापतिको उम्मेद्वार बन्ने आकांक्षी बनेपछि इतर पक्षमा सभापतिको उम्मेद्वार टुंगो लगाउन मुस्किल पर्ने देखिएको छ।

 

Nabintech