• १५ चैत्र २०८०, बिहीबार
जितेन्द्रनारायण देवको प्रश्न :’कूटनीतिक फेलियरलाई लुकाउन सरकारले राष्ट्रपति भण्डारीलाई माग्ने बनायो।’


काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र देवले खोप कूटनीतिमा सरकार असफल भएको बताएका छन् ।

राष्ट्रियसभाको बुधबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै देवले दक्षिण एसियाका चार देशले अमेरिका र युरोपेली देशको सहयोगमा खोप ल्याइरहेका बेला नेपालले नसक्नु सरकारको कुटनीतिक असफलता भएको बताए ।

अमेरिकी सरकारको सहयोगमा बंगलादेश र पाकिस्तानले मोडेर्ना कम्पनीको २५ लाख डोज खोप पाएको, श्रीलंकाले पनि अमेरिकी सरकारकै सहयोगमा फाइजरको खोप पाएको र भुटानले डेनमार्कबाट २५ लाख डोज खोप पाएको देवले उल्लेख गरे । ती देशसँग नेपालको पनि दशकौं लामो कूटनीतिक सम्बन्ध रहेको भन्दै उनले नेपालले किन खोप ल्याउन नसकेको भनी प्रश्न गरे ।

‘ती देशसँग नेपालको दशकौंदेखि परम्परागत र मित्रगत सम्बन्ध छ, अहिले यी देश र यी कम्पनी किन चिसो भए रु उनीहरुले किन डिल गर्न चाहेनन् ?’ उनले प्रश्न गरे, ‘दक्षिण एसियाका चार देशले खोप ल्याउन सफल भए, नेपालले ल्याउन सफल भएन । यो सरकार फेल भएको हो कि होइन ?’

कमिसन नपाएका कारण नेपालले किनिसकेको सेरम इन्ष्टिच्युटको खोप समेत ल्याउन नसकेको नेता देवले टिप्पणी गरे । राजनीतिक नेतृत्वलाई कूटनीतिक ज्ञान नहुँदा देशको कूटनीति असफल भएको भन्दै राष्ट्रियसभा सदस्य देवले कूटनीतिक असफलता लुकाउन सरकारले राष्ट्रपतिलाई पत्र लेखाएको टिप्पणी गरे ।

केही समयअघि राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न देशका राष्ट्रप्रमुखलाई पत्र लेखेर खोप उपलब्ध गराइदिन आग्रह गरेकी थिइन् । प्रधानमन्त्री वा परराष्ट्रमन्त्रीले गर्नुपर्ने पहल राष्ट्रपतिबाट गराउनु गलत भएको भन्दै राष्ट्रियसभा सदस्य देवले भने, ‘सरकारले आफ्नो कूटनीतिक फेलियरलाई लुकाउन राष्ट्रपति संस्थालाई चिठी लेखाएको हो, यो बचपना कूटनीति हो ।’

सरकारले कूटनीतिक पहलमा बेलैमा गल्ती भयो भनी स्वीकार गर्नुपर्ने भन्दै नेता देवले खोप ल्याउने विषयमा कांग्रेसको पनि सरकारलाई सहयोग रहने बताए ।

Nabintech