• १३ बैशाख २०८१, बिहीबार
निजी सवारीसाधनमा जोर-बिजोर लागू,बारअनुसार पसलहरू खुल्ने (सूचीसहित)

ट्याक्सीहरुलाई पनि जोर बिजोर अनुसार चल्न दिइने



काठमाडौं । उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ।

उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार साँझ बसेको बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

अब काठमाडौं उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा हुने भएको छ। अबको निषेधाज्ञा भने खुकुलो बनाइने भएको छ।

निजी सवारीलाई जोर-बिजोरअनुसार चल्न दिइने ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए। काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार ट्याक्सीहरूलाई पनि जोर-बिजोर लागू गरेर चलाउन दिइनेछ।

आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री खोल्न दिइने भएको छ । सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न दिइनेछ।

खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ भने रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउने भएका छन् ।

हार्डवेयर पसलहरु दैनिक ११ बजेदेखि बेलुका ६ बजेसम्म खुल्न पाउने भएका छन् । शनिबार अत्यावश्यक बाहेकका पसलहरु खुल्न नपाउने भएका छन् । सरकारी र सार्वजनिक संस्थानका कार्यालयमा सीमित कर्मचारी राखेर मात्र संचालन गर्न अनुमति दिइएको छ ।

निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइने अधिकारीले जानकारी दिए। शनिबार अत्यावश्यकबाहेक अरू पसलहरू बन्द गर्नु पर्नेछ। सरकारी कार्यालय आलो-पालो गरी खुला गर्नुपर्ने निर्णय भएको सहायक प्रजिअ अधिकारीले जानकारी दिए।

Nabintech