गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत


काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाउनुभएको छ ।

शुक्रबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पोखरेलले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत खसेको छ भने प्रस्तावको विपक्षमा २७ मत खसेको छ । प्रदेशसभा बैठकमा ५८ सांसद उपस्थित थिए ।

प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले विश्वासको मतसम्बन्धी प्रस्तावमाथि भएको मतविभाजनको परिणाम घोषणा गर्दै मुख्यमन्त्री पोखरेलद्वारा पेस गरिएको प्रस्ताव प्रदेशसभाको बहुमतबाट पारित भएको घोषणा गर्नुभयो ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री पोखरेलले प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको हो । उहाँ गत जेठ २९ गते संविधानको धारा १ सय ६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त हुनुभएको छ ।

त्यसअघि तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकी पदमुक्त हुनुभएको थियो ।

 

Nabintech