बहुमत सांसदको हस्ताक्षरसहित गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र पोखरेलको दावी

३१ सांसदको हस्ताक्षर सनाखत,निर्णय शनिबार हुने



पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।

शुक्रबार नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित प्रदेश प्रमुख कार्यालय पुगेका उनले ३१ सांसदको समर्थन आफूलाई रहेको भनी प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाए ।

उनले आफूहरु सशरीर आएको भन्दै हस्ताक्षर प्रमाणीकरणको व्यवस्था मिलाउन पनि आग्रह गरे । ‘यहाँ सशरीर उपस्थित हुनु भएका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद राजीव गुरुङलगायतलाई सनाखत गरियोस् भनेका छौं । हामी त्यसैको प्रतीक्षामा छौं’ सांसद पोखरेलले प्रदेश प्रमुखसमक्ष भने ।

प्रदेश प्रमुखको निवासमा उपस्थित सांसदले बजेट ल्याउनुपर्ने समयको चापलाई मध्यनजर गर्दै छिट्टै निर्णय गर्न आग्रह गरेपछि शुक्रबार नै सांसदको हस्ताक्षर सनाखत भएको छ ।प्रदेश प्रमुख पौडेलले आफूले उक्त दावीबारे अध्ययन गर्ने र प्रक्रिया पुर्‍याएर निर्णय गर्ने बताएकी छन् ।

मुख्यमन्त्रीमा दावी पेश गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कांग्रेस सांसद नेपालीले प्रदेश प्रमुखलाई छिटो निर्णय गर्न आग्रह गरेको बताए ।

 

 

Nabintech