• १६ चैत्र २०८०, शुक्रबार
डाक्टर र नर्समाथि हातपात गर्ने तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता


काठमाडौं । बाँकेको नेपालगञ्ज स्थित भेरी अस्पतालमा डाक्टर र नर्समाथि हातपात गर्ने तीन जनाविरुद्ध बाँके प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ ।
दाङका डिल्ली रावतको भेरी अस्पताल, नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत र भरत रावत तथा छोरा लोकराज रावतले ड्युटीमा खटिएका डाक्टर र नर्समाथि हातपात गरेका थिए ।

बाँके प्रहरीले तीनै जनालाई बिहीबार राति नै नियन्त्रणमा लिएको थियो । प्रहरीले शुक्रबार उनीहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको बाँके प्रहरीका प्रवक्ता सुवास खड्काले बताए ।
भेरी अस्पतालमा डाक्टर र नर्समाथि भएको हातपातको विरोधमा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका थिए ।आक्रमणकारीलाई ज्यान मार्ने मुद्दा दर्ता गर्ने, अस्पतालमा सुरक्षा व्यवस्था मजबुत गराउने सहमति आन्दोलन रोकिएको छ ।

कोरोना संक्रमित बिरामीको मृत्यु भएपछि रावत र उनका आफन्तले डाक्टर र नर्सको घाँटी अठ्याउनुका साथै लखेटीलखेटी हातपात गरेका थिए । डाक्टर र नर्स झ्यालबाट हाम फालेर भागेका थिए ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा छानबिन समिति गठन गरेका छन् । समितिले तीन दिनभित्र प्रतिवेदन बुझाउने गरी छानविन समिति गठन गरीएको छ ।

डाक्टर चन्द्रप्रकाश साहु, नर्सहरु आश्विनी गुरुङ, सदिक्षा गैरे, रिता अधिकारी र कविता पुन ड्युटीमा रहेका थिए । उनीहरु पाँचै जना झ्यालबाट हाम फालेर भागेका थिए ।

 

Nabintech