डब्लुएचओले भन्यो, जनावरबाट मानिसमा कोरोना सर्यो, प्रयोगशालाबाट होइन !


बेइजिङ । चिनियाँ र विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ को संयुक्त टोलीले गरेको अनुसन्धानमा कोरोना भाइरस चमेरोबाट मानिसमा अर्को जनावरमार्फत सरेको प्रारम्भिक प्रतिवेदन तयार पारेको छ । एसोसिएटेड प्रेस ‘एपी’ लाई प्राप्त मस्यौदा प्रतिवेदनमा प्रयोगशालाबाट मानिसमा कोरोनाभाइरस सरेको भन्ने यसअघिको सम्भावित आशंकामा ज्यादै न्यून सत्यता रहेको उल्लेख छ ।

अनुसन्धानका नतिजाहरु यसअघि अपेक्षा गरिए अनुरुप नै आएको तथा त्यसमा धेरै प्रश्नहरु अनुत्तरित रहेका छन् । यस टोलीले प्रयोगशालाबाट भाइरस बाहिरिएको बाहेक अन्य सबै पक्षमा अनुसन्धान गर्न सुझाव दिएको छ । प्रतिवेदन सार्वजनिक गर्न पटकपटक ढिलाई गरिएको छ । चिनियाँ अधिकारीहरुले प्रतिवेदनका निचोडलाई लिएर विवाद गरेको आशंका भइरहेको अवस्थामा विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ का एक अधिकारीले गत सप्ताहान्तमा केही दिनभित्रै प्रतिवेदन तयार भइसक्ने जानकारी गराउनु भएको थियो ।

एपीले जेनेभास्थित डब्लुएचओको कार्यालयका एक कुटनीतिज्ञबाट सोमबार अन्तिम मस्यौदा प्रतिवेदन प्राप्त गरेको थियो । तर उक्त प्रतिवेदन अन्तिम चरणमा परिवर्तन हुने वा नहुने बारेमा भने केही स्पष्ट छैन । अनुसन्धाताहरुले चार वर्गमा परिस्थितिलाई चित्रण गरेका छन् । जसमा चमेरोबाट अर्को जनावर हुँदै मानिसमा कोरोना भाइरस संक्रमण भएको स्थितिलाई प्रमुख रुपमा समेटिएको छ । चिसोमा राखिएको माशुजन्य वस्तुबाट कोभिड संक्रमण हुने खतरा रहे पनि त्यसमा त्यति बढी सम्भावना देखिएको छैन ।

कोभिड मानिसमा फैलिने सबैभन्दा निकटतम सम्भावना चमेरा नै रहेको अध्ययनमा भनिएको छ । तथापी, प्रतिवेदनमा चमेरामा हुने भाइरस र सार्स–कोभ–२ भाइरस बीचको उत्पत्तिको समयावधि भने धेरै दशक हुनसक्ने देखिएको छ । प्रतिवेदनमा धेरै मिल्दोजुल्दो भाइरस सालक ‘प्यान्गोलिन’मा पनि भेटिएको उल्लेख छ, तर मिन्क ‘पानी र जमिनमा बस्ने एक प्रकारको सरिसृप जीव’ र बिरालामा पनि कोभिड भाइरस संक्रमण हुने खतरा देखिएको छ । यी जीवजन्तुबाट पनि कोभिड फैलिन सक्ने खतरा बढी देखिएको प्रतिवेदनमा भनिएको छ ।

उक्त प्रतिवेदन डब्लुएचओको अन्तर्राष्ट्रिय विज्ञहरुले कोभिड फैलिएको उद्गम स्थल उहानको भ्रमणमा आधारित छ । उहान मिसनको नेतृत्व गर्ने डब्लुएचओका विज्ञ पिटर बेन इम्बारेकले शुक्रबार प्रतिवेदनले अन्तिम स्वरुप पाइसकेको बताउँदै यसका केही तथ्यजाँच र अनुवादको काम भइरहेको जनाकारी दिए । उनले भने, “मेरो विचारमा केही दिनभित्रै सम्पूर्ण प्रक्रिया पूरा भइसक्ने र यसलाई सार्वजनिक गरिने छ ।”

Nabintech