• १६ चैत्र २०८०, शुक्रबार
हुलाकी सडकको निर्माण कार्य द्रुत गतिमा


वीरगञ्ज । सरकारको उच्च प्राथमिकतामा रहेको हुलाकी सडक द्रुतगतिमा निर्माण हुन थालेको छ । यसले ग्रामीण क्षेत्रमा रहेका सडक सञ्जाललाई सदरमुकाम वीरगञ्जसँग जोड्ने काम समेत गरेको छ ।

पर्साका १४ स्थानीय तहमा रहेको सडक हुलाकी सडकसँग जोडिन थालेपछि सुदूर ग्रामीण क्षेत्रका जनता, यातायातका सवारीसाधन तथा ग्रामीण क्षेत्रमा उत्पादन हुने अन्नबाली बजारसम्म आउन सहज र सजिलो पनि भएको छ । यसबाट ग्रामीण क्षेत्रका किसानको आर्थिक वृद्धिदर बढ्दै गएको किसान विजय पंडितको भनाइ छ ।

जिल्ला सदरमुकाम वीरगञ्जदेखि ठोरीसम्मको हुलाकी सडकको निर्माणले पछिल्लो समय गतिलिन थालेको छ । तीस–तीस किलोमिटर गरी दुई प्याकेजमा निर्माण भइरहेको सो सडकको पहिलो प्याकेजको काम ५७ र दोस्रो प्याकेजको काम ८७ प्रतिशत सम्पन्न भई सकेको हुलाकी राजमार्ग निर्देशनालयले जानकारी दिएको छ ।

प्याकेज एकअन्तर्गत वीरगञ्जको प्रतिमा चोकदेखि चमरी टोलसम्म ३० किलोमिटर र प्याकेज दुईअन्तर्गत चमरी टोलीदेखि ठोरीसम्म निर्माण भइरहेको छ । सो सडक रू दुई अर्ब ११ करोड भारतीय सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको कार्यालयका सूचना अधिकारी सञ्जयकुमार ठाकुरले बताए ।

सो सडकअन्तर्गत प्याकेज नं १ मा ११ किमी र प्याकेज नं २ मा २४ किमी गरी जम्मा ३५ किमी सडकमा कालोपत्र राख्ने काम सम्पन्न भइसकेको छ । प्याकेज एकको सडक २०७७ जेठ २० गते र प्याकेज २ को सडक २०७७ चैत १८ गतेसम्म सम्पन्न गरी सक्नेगरी ठेकेदार कम्पनीले तीव्ररुपमा कामको थालनी गरेको बताइएको छ । सो सडक बनिसकेपछि पर्साको दुर्गम ग्रामीण क्षेत्रका १५ हजार २१८ घरधुरी प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् ।

यसैगरी सरकारको रू। सात करोड ७१ लाख ७३ हजार ७५० बराबरको लागतमा निर्माण भइरहेको तिलावे पुलको ५० प्रतिशत काम सम्पन्न भइसकेको छ । वीरगञ्ज महानगरपालिकालाई १३ स्थानीय तहसँग जोडिएको सो पुलको लम्बाइ १०० मिटर र चौडाइ ११ मिटर रहेको छ ।

बारा जिल्लाको गढीमाई–बरियारपुर–कवहीगोठलाई जोड्ने १० दशमलव छ किलोमिटर लम्बाइ रहेको सो सडकको भौतिक प्रगति ६५ प्रतिशत सम्पन्न भएको छ । सरकारको रू चार करोड ४५ लाख ५१ हजार ४८१ को लागतमा निर्माण भइरहेको सो सडकको दुई किमीसम्म कालोपत्रको काम सम्पन्न भइसकेको छ ।

यसैगरी बारा तथा रौतहट जिल्लाको सीमामा हुलाकी सडकअन्तर्गत निर्माण भइरहेको अरुवा खोलामा पुल निर्माणको काम ५० प्रतिशत सम्पन्न भएको छ । बीस मिटर लम्बाइ र ११ मिटर चौडाइ भएको सो पुल नेपाल सरकारको रू। पाँच करोड ३३ लाख २७ हजार ९७५ को लागतमा निर्माण भइरहेको छ ।

रौतहट जिल्लाको वाग्मती–फतुवा–महेशपुर र अरुवासम्म १९ दशमलव ११ किमी लम्बाइ भएको हुलाकी सडकको निर्माण भइरहेको छ । हालसम्म सो सडकको भौतिक प्रगति ७० प्रतिशत सम्पन्न भइसकेको छ । सो सडकखण्डको ११ किलो मिटरसम्म कालोपत्र काम भइसकेको छ । सरकारको रू ७७ करोड ३९ लाख ९९ हजार ९७५ को लागतमा निर्माण भइरहेको जानकारी दिइएको छ ।

पर्सा, बारा, रौतहट र चितवनसम्म हुलाकी सडकको १८३ किमी लम्बाइ रहेको छ । सर्लाही जिल्लाको कर्मैयास्थित वाग्मती पुलदेखि वीरगञ्जको प्रतिमा चोकसम्म ५५ किमी, वीरगञ्जदेखि ठोरीसम्म ६० किमी र ठोरी–माडी–भरतपुरसम्म ६८ किमी गरी जम्मा १८३ किमीसम्म हुलाकी सडक धमाधम निर्माण भइरहेको छ । तीमध्ये १२२ किमी हुलाकी सडकमा कालोपत्रको काम सम्पन्न भइसकेको छ ।

सो सडकअन्तर्गत २५ किमी चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले वन मन्त्रालयले सो सडक बनाउन अनुमति नदिएको सो कार्यालयले जनाएको छ । हाल पर्साको ठोरीदेखि चितवनसम्म जंगलको बाटो भएर यातायातका सवारीसाधन चले पनि कालोपत्र सडक नहुँदा समस्या भोग्दै आएका छन् ।

Nabintech