• १६ चैत्र २०८०, शुक्रबार
‘कृष्ण लीला’ ट्रेलर रिलिज, फरक भूमिकामा देखिए पुष्प (भिडियो)


काठमाडौं । यही चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कृष्ण लीला’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार साइराम पिक्चर्स यूट्युब च्यानलबाट सार्वजनिक भएको तीन मिनेट २५ सेकेण्डको ट्रेलर प्रेम, रोमान्स, विछोड र रोदनले भरिएको छ । अभिनेता पुष्प खड्का (कृष्ण) र अभिनेत्री श्रद्धा क्षेत्री (लीला) को प्रेममा आउने उतार-चढावमा फिल्म केन्द्रित रहेको ट्रेलरले प्रस्ट्याउँछ ।

सार्वजनिक ट्रेलरमा पुष्पलाई सुस्त मनस्थिति भएको युवकको भूमिकामा चित्रण गरिएको छ । उनको अभिनय मनछुने छ । फिल्म ‘मंगलम’ मा प्यारालाइसिस भएको युवकको भूमिकामा जीवन्त अभिनय हेरेर वाहवाही बटुलेका उनले एकपटक फेरि चुनौतीपूर्ण भूमिका निर्वाह गरेको ट्रेलरबाट अनुमान गर्न सकिन्छ । ट्रेलरले दर्शकमा फिल्मप्रति उत्सुकता र कौतुहलता जगाउन सफल छ ।

दीपक ओलीको निर्देशनमा बनेको फिल्ममा पुष्प र श्रद्धासँगै बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुष गुरागाई लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्ममा शिव ढकालको छायांकन, अर्जुन जिसीको सम्पादन, अर्जुन पोखरेलको संगीत, लक्ष्मण सुवेदीको कथा, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

रोहित कट्टेल प्रस्तुतकर्ता रहेको फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माता, प्रकाश राज कार्की र केवल तामाङ निर्माता, पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह-निर्मातामा छन् । यसअघि नै ‘कृष्ण लीला’ को पोस्टरसहित ‘डियर बन्न र कुनै दिन’ बोलका दुई गीत सार्वजनिक भइसकेको छ । कोरोनाले थलिएको नेपाली फिल्मको बजारलाई यो फिल्मले चलायमान बनाउने अपेक्षा गरिएको छ ।

ट्रेलर हेर्नुहोस्ः

Nabintech