• १४ बैशाख २०८१, शुक्रबार
उत्तरी नाका तातोपानीबाट पहिलो पटक युरिया मल सिल्क ट्रान्सपोर्ट कम्पनीले भित्र्याइयो

तातोपानीबाट मल ल्याउँदा प्रतिकेजी २ देखि ३ रुपैयाँ सस्तो पर्ने



काठमाडौं । उत्तरी नाका तातोपानीबाट पहिलो पटक नेपालमा रासायनिक मल युरिया भित्रिएको छ ।

साल्ट ट्रेडिङको लागि सिल्क ट्रान्सपोर्ट कम्पनीले रासायनिक मल ल्याएको हो । चीनबाट मल ल्याउन पहिलोपटक साल्ट ट्रेडिङले आव्हान गरेको ग्लोबल टेन्डर मार्फत सिल्कले अनुमति पाएको हो ।
साल्ट ट्रेडिङको लागि सिल्क ट्रान्सपोर्ट कम्पनीले ८० हजार बोरा अर्थात ४ हजार टन  रासायनिक मल भित्र्याएको हो । चीनको सिगात्सेसम्म रेल र त्यहाँबाट कन्टेनरमार्फत् मल ल्याइएको हो । तातोपानी भन्सार कार्यालयका अनुसार फागुन २३ गते पहिलो पटक र अहिलेसम्म २ सय ८० टन युरिया मल आइसकेको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताउनुभयो ।
उत्तरी नाकाबाट पनि रासायनिक मल ल्याउन सके कृषकहरुले समयमै प्रयोग गर्न पाउने भएपछि रासायनिक मल आयात गरेको सिल्क ट्रान्सपोर्टका अध्यक्ष रमेश शेर्पाले बताउनुभयो । चीनबाट ५ दिनमा नाकामा र ७ दिनभित्र काठमाडौंसम्म मल ल्याउन सकिने अध्यक्ष शेर्पाले बताउनुभयो । उत्तरी नाका तातोपानी नाकाबाट मल ल्याउँदा प्रतिकेजी २ देखि ३ रुपैयाँ सस्तो पर्ने सिल्कला अधयक्ष शेर्पाको भनाइ छ । किसानले प्रतिकेजी करिब १८ रुपैयाँमा मल खरिद गर्न पाउनेछन् ।

शुरुमा परीक्षणका लागि सानो परिमाणमा ४ हजार टन मल नेपाल ल्याईएको हो । तातोपानी नाकाबाट भित्रिएको मल सिन्धुपाल्चोक, काभ्रे, दोलखा, रामेछाप लगायत पहाडी जिल्लाका किसानले छिटै प्रयोग गर्न पाउने कृषि मन्त्रालयका सहसचिव कञ्चनराज पाण्डेले बताउनुभयो ।

भारत हुँदै ल्याउने बिकल्पमा अहिले तातोपानी नाकाबाट मल ल्याउन थालिएको हो । तातोपानी नाकाबाट मल आउन सके किसानलाई समयमै सहज मल उपलब्ध गराउन सकिने कृषि विभागका महानिर्देशक डा. गोविन्द प्रसाद शर्माको भनाइ छ।

आयात गरिएको प्रत्येक कन्टेनरमा ५ सय वटा बोरा हुन्छ । एउटा बोरामा ५० केजी युरिया मल हुन्छ । मलको प्रतिबोरा औषत खरिद मूल्य २ हजार ३ सय २२ रूपैयाँ ४४ पैसा रहेको छ । १ हजार ४ सय ३३ रुपैयाँ ७७ पैसा अनुदान सहित काठमाडौं, बनेपा, बिदुरका किसानले ८ सय ८८ रुपैयाँ ६७ पैसा प्रतिबोरामा मल खरिद गर्न पाउनेछन् । भूकम्पपछि ठप्प भएको तातोपानी नाका गत वर्षदेखि सामान्य रुपमा सञ्चालनमा आएको हो । नाकाबाट दैनिक १४ कन्टेनर सामान पनि आयात भइरहेको छ । अहिले सबैभन्दा बढी मल आयात भइरहेको छ ।

तातोपानी नाकाबाट यस अघि खाद्यान्न, लत्ताकपडा, इलोक्ट्रोनिक तथा अन्य सामाग्री आयात हुनेगरेको भएपनि यसपटक भने सिल्क ट्रान्सपोर्ट कम्पनीले मलको मात्र आयात गर्ने गरेको छ ।

फोटोफिचर:

 

Nabintech